काठमाडौं – करीब दुई सातादेखि चलिरहेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा विधान संशोधन मस्यौदामा देखिएको विवाद हल हम्मेहम्मे परेको छ । नेताहरू फरक–फरक समूहमा विभाजित भएपछि कांग्रेसलाई यो विषय हल गर्न फलामको च्यूरा चपाए सरह भएको हो ।
मंसिर २९ गतेदेखि शुरू हुने महासमिति बैठकको तयारीमा कांग्रेसले केन्द्रीय समितिबाट राजनीतिक प्रस्ताव र आर्थिक प्रतिवेदन पारित गर्यो, तर प्रतिवेदनमा समावेश कतिपय विषयमा एकमत हुन सकेको छैन ।
यस्तै विधान संशोधनका विषयमा पनि बिमति कायम छ । संस्थापन पक्षले पदाधिकारीको संख्या नबढाउने अडान लिएको छ भने रामचन्द्र पौडेल पक्षीय नेताहरूले पदाधिकारी बढाएर ११ जना पुर्याउने अडान लिएपछि विवाद बढेको छ ।
तर कांग्रेस नेताहरू भने छलफलको विषयलाई ‘विवाद’ भन्न नहुने बताउँछन् । ‘यो विवाद नै होइन । सहमति जुटाउने प्रक्रियामा सामान्य छलफल जहाँ पनि हुन्छ,’ लोकान्तरसँग कुरा गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘महासमिति बैठक उद्घाटन हुने बेलासम्म हामी छलफलमा जुटिरहन्छौं ।’
केन्द्रीय समिति बैठक आज पनि डाकिएको छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा विधान संशोधन मस्यौदा र अन्य प्रस्तावमा सहमति जुटाउन अन्तिम प्रयास गरिने जानकारी प्रवक्ता शर्माले दिएका छन् ।
स्रोतका अनुसार सहमति जुट्न नसकेको खण्डमा वैकल्पिक प्रस्ताव लैजाने विषयमा पनि छलफल चलिरहेको छ ।