
काठमाडौं — होउ यान्छीलाई नेपालका लागि नयाँ चिनियाँ राजदूत बनाइएको छ । उनी यु होङको ठाउँमा राजदूत बन्न लागेकी हुन् ।
चीन सरकारले उनको नाममा पठाएको अग्रीमो नेपाल सरकारले स्वीकार गरेपछि हाउको राजदूत बन्ने बाटो खुलेको हो ।
होउ यसअघि चीनको परराष्ट् मन्त्रालयको एसिया मामिला विभागमा कार्यरत थिइन् । उनले उक्त विभागमा चारमध्ये एक उपनिर्देशकका रूपमा काम गरेकी थिइन् ।
परराष्ट्र मामिलामा होउको लामो अनुभव छ ।
यु होङ नेपालको राजदूत रहँदा नेपाल र चीनबीच पेटी सडक परियोजना (बीआरआई) मा हस्ताक्षर भएको थियो । उनले दुई देशबीचको सम्बन्धलाई घनीभूत बनाउन भूमिका खेलेको परराष्ट्विद्हरूको भनाइ छ ।
नयाँ राजदूत होउले पनि द्विदेशीय सम्बन्धलाई थप उचाइमा लाने अपेक्षा गरिएको छ ।