२८ असार २०८३, आइतबार

प्रहरीमा प्रविधिको प्रयोग : कर्णालीका डीआईजीले ‘भिडियो कन्फरेन्स’मार्फत् दिए जिल्ला–जिल्लामा निर्देशन

मंसिर २७, २०७५
प्रहरीमा प्रविधिको प्रयोग : कर्णालीका डीआईजीले ‘भिडियो कन्फरेन्स’मार्फत् दिए जिल्ला–जिल्लामा निर्देशन

सुर्खेत – कर्णाली प्रदेश सरकारले ल्याएको डिजिटल कर्णाली प्रदेशको नारा प्रदेश प्रहरीले पनि अबलम्बन गरेको छ ।

नयाँ प्रविधिको भरपुर प्रयोग गर्ने र त्यसबाट प्रदेशको समग्र सुरक्षा अवस्थाबारे जानकारी लिन र निर्देशन दिन प्रदेश प्रहरीले बिहीवार वीरेन्द्रनगरमा ‘भिडियो कन्फरेन्स’ गरेको हो ।

प्रदेश प्रहरी प्रमुख डीआइजी महेशविक्रम शाहले हरेक महिनाको २ पटक प्रदेशभरका जिल्ला प्रहरी कार्यालय, अन्य प्रहरी सम्वद्ध कार्यालयसँग ‘भिडियो कन्फरेन्स गरेर जानकारी लिने र निर्देशन दिने बताए ।

‘कर्णाली प्रदेशको भूगोल ठूलो छ र जनशक्ति अभाव छ,’ बिहीवार आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘त्यसैले भौगोलिक कठिनाइलाई प्रविधिको माध्यमबाट चिर्न र समयमै सुरक्षा व्यवस्थाबारे जानकारी लिन सहज हुने अपेक्षा सहित प्रविधि अपनाएका हौं ।’ 

१५ सय प्रहरी दरबन्दी रिक्त

प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णाली प्रदेशभर ५ हजार ७ सय ९ प्रहरी दरबन्दी भएपनि अझै १ हजार ५ सय दरबन्दी रिक्त रहेको छ । हाल प्रदेशभर ४ हजार ४ सय ३२ जनाले सुरक्षा व्यवस्था दिइरहेका छन् । कर्णाली प्रदेशमा प्रतिप्रहरीले २ सय ६४ जना नागरिकलाई सेवा प्रवाह गर्नुपर्ने अवस्था छ ।

डीआइजी शाहका अनुसार प्रतिप्रहरीले ४ दशमलव ७५ वर्गकिलोमिटर क्षेत्रफल हेर्नुपर्ने बाध्यता रहेको छ । न्यून जनशक्तिका कारण सुरक्षा व्यवस्थामा चुनौती थपिएको बताउँदै डीआईजी शाहले प्रदेशभर २ सय १५ वटा प्रहरी इकाई रहेको जानकारी दिए ।

उनका अनुसार कर्णाली प्रदेशमा महिला हिंसा, जबर्जस्तीकरणी, हत्याजस्ता अपराध निरन्तर बढ्दै गएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा १ हजार १७ अपराध भएको, आर्थिक वर्ष २०७३/७४ मा १ हजार ४७, आर्थिक वर्ष २०७४/७५ मा १ हजार २ सय ४८ वटा अपराध कर्णालीमा भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्