
काठमाडौं –सरकारले २ सय रुपैयाँका भारतीय नोटमा पनि प्रतिबन्ध लगाएको छ । ५ सय र २ हजार दरका नोटमा यसअघिदेखि नै प्रतिबन्ध रहेकोमा अब २ सय दरका भारतीय नोट पनि नेपालमा नचल्ने भएका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्त एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बिहीवार पत्रकार सम्मेन गरी जानकारी गराए ।
भारतले २०१६ अक्टोबरमा कालो धनलाई नियन्त्रण गर्ने भन्दै ठूला दरका नोटमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि बजारमा नोटको अभाव भएपछि भारत सरकारले दुई हजार र दुईसय दरका भारु नोट प्रचलनमा ल्याएको थियो ।
नेपाल राष्ट्र बैंकले सूचना निकाल्दै त्यही समयमा ५ सय र २ हजार दरका भारु नोट नेपालमा नचल्ने जानकारी गराएको थियो । गत सोमवारको मन्त्रिपरिषद्को निर्णयसँगै भारु दुई सय दरका नोट पनि नेपालमा नचल्ने भएको छ ।
भारत सरकारले प्रतिबन्ध लगाएका भारतीय नोट नेपालमा करीब १५ अर्ब रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकको प्रारम्भिक अनुमान थियो ।
भारतले सटही सुविधा नदिएकाले नेपालमा रहेको भारु नोट सटहीमा रहेको समस्या कायमै छ । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले भारु सटहीमा भारत सहमत नभएपछि समस्या आएको बताए ।
भारतसँग त्यस विषयमा छलफल गरिए पनि भारतले सहमति नदिएको पौडेलको भनाइ छ ।