३० असार २०८३, मंगलबार

युरोपेली संघका नेताहरूले बेलायती प्रधानमन्त्रीलाई पारे निराश

मंसिर २८, २०७५
युरोपेली संघका नेताहरूले बेलायती प्रधानमन्त्रीलाई पारे निराश

काठमाडौं — युरोपेली संघका नेताहरूले ब्रेक्जिट सहमतिमा थप सम्झौता हुन नसक्ने प्रस्ट पारेका छन् । बेलायतकी प्रधानमन्त्री टेरिजा मेले यसका विषयमा सम्झौताको अपील गरेको भएपनि युरोपेली संघका नेताले मानेनन् । 

मेले बेलायती संसदबाट सहमति पास गराउन आयरल्यान्डका विषयमा कानूनी सुनिश्चितता चाहेकी थिइन् । संसदमा हारिन्छ कि भनेर उनले तल्लो सदनमा मतदानलाई टारेकी पनि थिइन् । 

प्रधानमन्त्रीले सांसदहरूको चिन्ता सम्बोधन नगर्दा यो सहमति जोखिममा पर्ने बताइन् । 

युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जंकरले यस विषयमा स्पष्ट गर्न सकिने तर पुनः सम्झौता नहुने बताए । 

बेलायतले के चाहेको हो भन्ने विषयमा थप स्पष्ट पार्न उनले आग्रह गरे । सम्झौताविहीन ब्रेक्जिटको तयारीका सम्बन्धमा आयोगले डिसेम्बर १९ मा सूचना प्रकाशित गर्ने उनले थपे । 

मे बिहीवार युरोपेली संघका नेताहरूसँग वार्ता गर्न ब्रसेल्स पुगेकी हुन् । यो हप्ता उनले बेलायती संसदमा ब्रेक्जिट सहमतिमाथिको मतदानमा ढिलाइ गराएकी थिइन् अनि ब्रेक्जिट सहमतिमा असन्तुष्ट सांसदहरूले ल्याएको अविश्वास
प्रस्तावमा विजय हासिल गरेकी थिइन् । 

उनले ३७ प्रतिशत टोरी सांसदहरूको चिन्ता सुन्ने प्रतिज्ञा गरेकी छन् र सहमतिमा परेको विवादास्पद ब्याकस्टप योजनामा विषयमा उनीहरूको चासोलाई सम्बोधन गर्ने आशा उनले गरेकी छन् । 

उत्तरी आयरल्यान्डमा कडा सीमानाकालाई रोक्ने लक्ष्य लिएको ब्याकस्टपले बेलायतलाई युरोपेली संघका नियममा अनिश्चितकालका लागि बाँध्ने र व्यापार सम्झौता गर्ने उसको क्षमतालाई नियन्त्रण गर्ने आलोचकहरूले बताएका छन् । 

कन्जर्भेटिभ सांसदहरूले ब्याकस्टप सधैंका लागि कायम रहँदैन भनी प्रस्ट पार्नका लागि त्यसमा परिवर्तन गर्न माग गरेका छन् । 

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्