
सुर्खेत – सुर्खेत उद्योग वाणिज्य संघको शनिवार हुने निर्वाचनको तयारी तीव्र छ ।
संघका कर्मचारीले अन्तिम नामावली प्रकाशित गरिसकेका छन् । मतदानस्थलको तयारी पनि भइरहेको छ ।
उम्मेदवार चुनाव प्रचारमा खटिरहेका छन् । सडक जाम गरेर भएपनि व्यवसायीहरू नाराजुलुस गर्दै हिँडिरहेका छन् । उम्मेदवारहरू आफ्नो प्यानल जित्छ भन्ने नारा घन्काइरहेका छन् ।
सबै उम्मेदवारलाई मतदाताले आश्वासन दिएपनि चुनावमा कुन पक्षले बढी मत ल्याउला भन्ने अड्कलबाजी बजारमा सर्वत्र छ । एकथरिले धनबहादुर रावतको लोकतान्त्रिक प्यानलले चुनाव जित्ने दाबी गरिरहँदा अर्को संयुक्त व्यवसायी प्यानल वामपन्थी व्यवसायीको साथ पाएको बताउँदै आफूलाई जित्नबाट कसैले रोक्न नसक्ने दाबीका साथ चुनाव प्रचारमा खटिएका छन् ।
चुनाव प्रचारको शैली हेर्दा स्थानीय चुनावजस्तै छ । नारा जुलुस, पर्चा पम्पलेट, विज्ञप्ति हरेक व्यापारीलाई बाँड्नमै व्यस्त छन् ।
कसका कस्ता नारा ?
संयुक्त व्यवसायी प्यानलले ३० बुँदे घोषणापत्र जारी गरेको छ भने लोकतान्त्रिक प्यानलले १५ बुँदे घोषणापत्र जारी गरेको छ । संयुक्त प्यानलले जारी गरेको घोषणा पत्रमा संघलाई भौगोलिक क्षेत्र, राजनीतिक विचारधारा र जातजातिका सदस्यको साझा थलो बनाइने, स्थानीय तह र प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्दै व्यावसायिक हित प्रर्वद्धन गर्ने, सार्वजनिक निजी साझेदारी नीतिलाई प्रभावकारी रुपमा अंगीकार गरिने उल्लेख छ । औद्योगिक, व्यावसायिक विकास, हीत प्रर्वद्धन, सुरक्षा, संस्थागत हीत विकास गर्ने कुरा घोषणापत्रमा उल्लेख छ ।
लोकतान्त्रिक प्यानलले जारी गरेको १५ बुँदे घोषणा पत्रमा आगजनी, भूकम्प, प्राकृतिक विपत्तिमा परेका व्यावसायीको लागि बीमा गर्ने, राहत कोषलाई वृद्धि गर्ने, बंैंक तथा वित्तीय क्षेत्रमा परेको ऋण तथा व्याजमा देखिएको समस्या समाधानका लागि सहजीकरण गर्ने, एक प्रदेश एक औद्योगिक क्षेत्र बनाउने, सरकारको नीतिलाई मुर्तरुप दिन सरकारसँग कुरा गर्ने, घरबहाललाई व्यवसायीमैत्री बनाउन घरधनी र व्यवसायीबीच समन्वय गरिने लगायतका उल्लेख छन् ।
दलित र जनजाति समुदायको प्रतिनिधित्व शून्य
संघको चुनावका लागि उम्मेदवारी दिएका दुवै पक्षले दलित समुदायको प्रतिनिधित्व गराएका छैनन् । लोकतान्त्रिक प्यानल र संयुक्त प्यानलले दलित समुदायको प्रतिनिधित्व नगराएको भन्दै दलित समुदाय रुष्ट बनेका छन् ।
लोकतान्त्रिक प्यानलका उम्मेदवारमा १ जना मुस्लिम समुदायबाट हबिब हुसैन सदस्य पदका उम्मेदवार बनेका छन् भने जनजाति समुदायको प्रतिनिधित्व नै छैन । संयुक्त व्यवसायी प्यानलले पनि जनजाति समुदायबाट प्रतिनिधित्व गराउन सकेको छैन ।
सुनचाँदी व्यवसायी संघ सुर्खेतका वरिष्ठ उपाध्यक्ष जनक सुनारले दुवै प्यानलले दलित सुमदायलाई उपेक्षा गरेको बताए । उनले दुवै प्यानलको उम्मेदवारीप्रति सुनचाँदी व्यवसायी संघको गम्भीर असन्तुष्टि रहेको जानकारी दिए । यद्यपि पार्टीबाटै उम्मेदवार उठेका कारण चुनावमा भने भाग लिने उनको प्रतिक्रिया छ ।
उपत्यका केन्द्रित उम्मेदवार
सुर्खेतको पश्चिम क्षेत्रमा १ सय ५० मत र पूर्वतिर ४ सयभन्दा बढी हुँदा पनि संयुक्त व्यवसायी प्यानल र लोकतान्त्रिक प्यानलले पूर्व तथा पश्चिमबाट उम्मेदवार बनाउन चाहेनन् । उनीहरूले सबै पद उपत्यका भित्रैका व्यवसायीलाई बाँडेका छन् ।
पूर्वमा उद्योग वाणिज्य संघ खुलिसकेको र पश्चिममा व्यवसायी कम भएको निष्कर्षका साथ दुवै प्यानलले उपत्यका भित्रैबाट उम्मेदवार चयन गरेको स्रोत बताउँछ । तर जिल्लाकै संघ भएपनि बाहिरबाट प्रतिनिधित्व नगराएको बताउँदै बाहिरका व्यवसायी समेत असन्तुष्ट बनेका छन् । नाम नबताउने शर्तमा बड्डीचौरका एक व्यवसायीले दुवै प्यानलले आफूहरूलाई उपेक्षा गरेको आरोप लगाए ।
चेम्बर अफ कमर्सका सुर्खेत अध्यक्ष चिन्तामणि शर्माले संघको निर्वाचनको सफलताको शुभकामना दिए । उनले निर्वाचनपछि आउने निर्वाचित कमिटीले सुर्खेतका उद्योगी व्यवसायीको समस्या समाधानका लागि टीमसँग चेम्बर्स अफ कमर्स सहकार्य गर्न तयार रहेको बताए ।
‘संघ साझा संस्था भएका कारण हामी संघसँग हातेमालो गरेर अघि बढ्न चाहन्छौं । तर विगतजस्तो पार्टीकरण नहोस् भन्ने हाम्रो चाहना हो,’ उनले भने ।