२७ असार २०८३, शनिबार

काठमाडौँ महानगरले सुरु गर्यो स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा

मंसिर २८, २०७५
काठमाडौँ महानगरले सुरु गर्यो स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा

काठमाडौं– काठमाडौं महानगरपालिकाले ‘हाम्रो काठमाडौं हामी बनाउँछौं’ भन्ने मूल नारासहित ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा –२०७५’  को सुभारम्भ गरेको छ । 

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रमको सुभारम्भ गरेका हुन् । 

कार्यक्रमको सुभारम्भ गर्दै मेयर शाक्यले सरकारले अघि बढाएको ‘खुशी नेपाली समृद्ध नेपाल’ को अभियानलाई सफल बनाउन सो कार्यक्रम सहयोगी बन्ने बताए । 

‘खुशी नेपाली समृद्ध नेपालको नारा जसले बनायो उसको मात्रै होइन । समृद्ध नेपाल हामी सबैको चाहना हो,’ मेयर शाक्यले भने, ‘हामी सबैले त्यो नारालाई सफल बनाउन आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ । राष्ट्र समृद्ध भयो भने मात्र हामी सुखी र खुशी बन्छौँ । सुखी र समृद्ध नेपाल बनाउनका लागि काठमाडौँ महानगरपालिका पनि समृद्ध हुनुपर्छ । काठमाडौँ समृद्ध बनाउन युवा र विज्ञहरुले पनि साथ दिनुपर्छ ।’ 
उनले समृद्ध महानगरपालिका बनाउन युवा र विज्ञहरुको समेत साथ लिएर महानगरपालिका अघि बढेको बताए । 

‘सकारात्मक सोँचका साथ अघि बढ्ने हो भने सबै सफल बन्न सकिन्छ,’ उनले महानगरपालिकालाई परिवारको संज्ञा दिदैँ भने, ‘एउटा घर–परिवार सफल बनाउन आमा–बुवा अथवा अविभावको जस्तो भूमिका हुन्छ । महानगर सफल बनाउन पनि हामी जनप्रतिनिधिको त्यस्तै भूमिका हुनुपर्छ । महानगरको विकासका लागि एउटै सोँच लिएर हामी हिड्ने हो भने असम्भव केही छैन । हामी नै नमिल्ने हो भन अशान्ति हुन्छ । अस्तव्यस्त हुन्छ र विकासको गति अघि बढ्दैन ।’ 

उनले काठमाडौँ महानगरपालिका मुलुककै राजधानी भएको भन्दै यहाँ करीब पचास लाख मानिस बसोबास गर्ने भएकाले सुन्दर महानगर बनाउने चाहना मेयर, उपमेयर, वडाध्यक्ष, सदस्य र कर्मचारी मात्रै नभई सबैको हुनुपर्नेमा जोड दिए । 

उनले वोलीमा मात्र होइन काममै स्मास्र्ट सिटी बनाउने अभियानमा महानगरपालिका लागेको पनि बताए । 

‘महानगरपालिकामा हामीले जितिसकेपछि धेरै–नीति तथा कार्यक्रममा पनि स्मार्ट शब्द प्रयोग गरेका छौँ । कानुनको पाटोबाट त्यो अघि बढेको छ । तर, व्यवहार र कार्यान्वयनमा उतार्न चाँहि केही समय लाग्ने रहेछ,’ उनले भने, ‘हामी काम गर्न चाहन्छौँ । तर त्यसलाई परिपक्क बनाउन केही समय लाग्ने रहेछ । नीति–कार्यक्रम मात्र राम्रो भएर हुँदैन त्यसको कानुनपक्ष सबै भन्दा स्मार्ट र मजबुत हुनुपर्ने रहेछ । अहिले स्वदेशमा काम गर्ने वातावरण नभएर युवा विदेश पलाएन हुनु पर्ने वाध्यता छ । करीब तीन करोड नेपाली अहिले नेपालमै केही गरेर बसेका छन् । विदेश पलाएन भएका युवाले स्वदेशमा केही गर्ने वातावरण नभएपछि विदेश पलाएन भएको भन्ने गरेका छन् । कम्तिमा पनि त्यो आरोपको अन्त्यका लागि  काठमाडौँ महानगरपालिकाले केही गर्न सक्छ कि भनेर यो सुरुवात गरेका छौँ ।’  उनले  प्रविधि, ज्ञान र सीपको प्रतिस्पर्धा गरेर त्यो प्रतिस्पर्धामा सर्वोत्कृष्ट हुनेलाई केही पुरस्कारको पनि व्यवस्था गरेको बताए । 

उपमेयर हरिप्रभा खड्कीले पनि सबै मिलेर महानगरको विकासमा अघि बढनु पर्ने बताइन् । 

उनले यो कार्यक्रमले स्मार्ट महानगर बनाउने सबैको चाहना पूरा हुने विश्वास व्यक्त गरिन् । प्रमुख कार्यकारी अधिकृत यादव कोइरालाले नेपालमा व्याप्त बेरोजगारी र त्यसका कारण युवाहरुको विदेश पलायन हुने समस्यालाई समाधान गर्दै नविन सोचको माध्यमबाट प्रविधियुक्त उद्यमशीलता प्रवद्र्धन गर्ने दिशातिर यो अभियानले लैजाने दाबी गरे । 

विश्वमा प्रचलनमा रहेका अथवा भविश्यमा नवनिर्माण हुन सक्ने नविन सोचको अन्वेषण गर्ने, काठमाडौ.महानगरपालिकाले प्रदान गर्ने सेवा सुविधाहरुको कार्यकुशलता तथा प्रभावकारिता अभिबृद्धि गर्ने, काठमाडौंको सहरी समस्या समाधान गर्न सक्ने प्रविधिमैत्री स्टार्टअप उद्यमशीलतालाई प्रबद्र्धन गर्ने जस्ता लक्ष्य पनि कार्यक्रमले लिएको छ ।   

६ महिनासम्म चल्ने यो कार्यक्रमले  नविन सोचलाई प्रवद्र्धन एवं प्रोत्साहन गर्दै कार्यान्वयनयोग्य बनाउनका लागि उपयुक्त वातावरण निर्माण गर्ने , महानगरको समग्र शासन प्रणालीमा नविन सोच, क्षमता र दक्षता भएका जनशक्तिको अर्थपूर्ण सहभागीता सुनिश्चित गर्ने जस्ता लक्ष्य पनि लिएको छ ।   

यस प्रतिस्पर्धामा समुदाय तथा वातावरण, सहरी पूर्वाधार विकास, महानगरीय सामुदायिक सेवा र महानगरपालिकाको सार्वजनिक प्रशासन तथा व्यवस्थापन गरि मूख्य ४ विषयहरु समेटिएको छ भने हरेक विषयहरुका विभिन्न २८ क्षेत्रहरुमा प्रतिस्पर्धीले आफ्ना नविन सोँचहरु प्रस्तुत गर्न महानगरपालिकाले जानकारी दिएको छ ।   

प्रतिस्पर्धालाई विभिन्न ६ चरणहरुमा विभाजन गरी सम्पन्न गरिनेछ । सबै चरणहरुमा प्रतिस्पर्धीहरुको छनौट गर्दा विषयको महत्व, उत्पादन क्षमता, ब्यावसायिक नमूना, विस्तार योग्यता र प्रस्तुति एवं ब्याख्या गरी छुट्टाछुट्टै पाँच आधारमा तोकिएको मापदण्ड अनुसार मूल्यांकन गरी मूल्यांकनबाट प्राप्त कुल अंक मध्ये सबैभन्दा बढी अंकलाई आधार मानि प्रतिस्पर्धीहरुलाई विजेताको रुपमा घोषणा गरिनेछ । प्रतिस्पर्धामा पहिलो चरणमा कम्तिमा १०० वटा नविन सोच भएका युवाहरुका समूहहरुलाई छनौट गरि विज्ञ समूहबाट करिब ३ महिना नियमित मेन्टरिङ्ग तथा तालिम दिई उनिहरुको सोँचमा निखारता ल्याईनेछ ।

छनौट भएका १०० प्रतिस्पर्धीहरु मध्येबाट ४ विषयका २४ वटा प्रतिस्पर्धी समूहलाई फाईनलको लागि छनौट गरि अर्को विशिष्ट चरणको तालिम प्रदान गरिनेछ । तालिम सकिएपछि २४ प्रतिस्प्रधीहरुलाई समुहगत रुपमा फाईनल चरणको छनौटमा सहभागी गराइनेछ । 

salt training

कमेन्ट गर्नुहोस्