१९ असार २०८३, शुक्रबार

छ वर्षपछि कांग्रेस महासमिति बैठक, न्यायधिवक्ताविरुद्ध भ्रष्टाचार मुद्दा

मंसिर २९, २०७५
छ वर्षपछि कांग्रेस महासमिति बैठक, न्यायधिवक्ताविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा शुक्रबार साँझ मिनीट्रक दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइतेको उद्धार गरिएको छ । घाइतेको काठमाडौंमा उपचार हुँदैछ ।

दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसीपुतर्फ गइरहेको बा ३ ख ३९१३ नंं को मिनीट्रक दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ । दुर्घटनामा तीन महिला र १५ पुरुषको  घटनास्थलमै मृत्यु भएको हो भने अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतकमध्ये घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेँशीका रितेश पण्डितको पहिचान खुलेको छ । यातायातका साधन नहुँदा घाइतेको उद्धारमा समस्या भएको थियो । सिम्टाङस्थित आफन्त कहाँ आयोजित घेवामा सहभागी बोकेर फर्किरहेको गाडी साँझ पाँच बजेतिर दुर्घटनामा परेको थियो । कच्ची सडकमा उकालोतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा सडकबाट करीब ५०० मिटर तल तादी खोलामा पुगेको थियो ।

कांग्रेसद्वारा महासमिति बैठकमा पेस हुने तीन प्रस्ताव पारित 
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको महासमिति बैठकमा पेस हुने तीन प्रस्ताव पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले राजनीतिक, साङ्गठनिक र आन्तरिक आर्थिक प्रतिवेदन सुझावसहित पारित गरेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए । 

यही मङ्सिर ९ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा शशाङ्क कोइरालाले साङ्गठनिक, अर्का महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेस गरेका थिए । समग्र आर्थिक नीतिसम्बन्धी प्रस्ताव यसअघि नै पारित भइसकेको छ भने विधान संशोधनसम्बन्धी प्रस्तावमा अझै सहमति हुन सकेको छैन ।

महासमिति बैठकको उद्घाटन शनिबार हुनेछ । काङ्ग्रेसले संविधानको संघीयता संरचनाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महासमिति बैठक बोलाएको हो । बैठकले उपसभापति विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरम पार्टीसँग एकीकरणका बेला भएको सहमतिअनुसार सो पार्टीका २०० जनालाई महासमिति सदस्य र १५० जना पर्यवेक्षक दिने निर्णयसमेत गरेको केन्द्रीय सदस्य यादवले जानकारी दिए ।

छ वर्षपछि कांग्रेस महासमिति बैठक 
कांग्रेस महासमिति बैठक छ वर्षपछि हुन लागेको हो । विधानअनुसार हरेक वर्ष हुनुपर्ने महासमिति बैठक २०६९ चैत यता हुन सकेको थिएन । शेरबहादुर देउवा पार्टी सभापतिमा निर्वाचित भएको ३२ महिनापछि बैठक हुन लागेको हो । 

नेतृत्व बदल्नेबाहेक पार्टीका नीतिगत निर्णयहरूका लागि कांग्रेसमा महासमिति बैठक महत्वपूर्ण मानिन्छ । महासमितिलाई महाधिवेशनपछि पार्टीको ठूलो फोरमका रूपमा लिइन्छ । शुक्रबार केन्द्रीय कार्यालयमा महासमिति सदस्यको रजिस्ट्रेसन एवं स्वागत गरिएको छ । शनिबार ११ बजे सभापति देउवाले बैठक उद्घाटन गर्नेछन् । पुस १ देखि ३ सम्म बन्दसत्रमा विधान, राजनीतिक प्रस्ताव, सांगठनिक प्रतिवेदन, आर्थिक प्रस्ताव गरेर बैठक सकाउने तालिका छ ।

महासमिति बैठकमा यसअघि कायम भएका २४० निर्वाचन क्षेत्रबाटै ५–५ जनाका दरले एक हजार दुई सय सहभागी हुनेछन् । केन्द्रीय पदाधिकारीसहित केन्द्रीय सदस्यहरू, १२औँ महाधिवेशनका केन्द्रीय सदस्यहरू रहनेछन् । यस्तै, भ्रातृ शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट ९७–९७ जनाको सहभागिता रहनेछ । महासमिति सदस्य हुन नसकेका २९ जिल्लाका सभापति पर्यवेक्षकका रूपमा सहभागी हुँदै छन् । पार्टी एकता गरेको तत्कालीन लोकतान्त्रिक फोरमबाट पनि प्रतिनिधि सहभागी हुनेछन् । 

राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन प्रस्तुत
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को  आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित समारोहमा सवैधानिक व्यवस्थानुरुप प्रधामन्त्री ओलीले उक्त प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले परम्परागत सुरक्षाका साथै नवीनतम सुरक्षा चुनौतीलाई सामना गर्दै मुलुकको समग्र सुरक्षा व्यवस्था प्रभावकारी बनाउनका लागि नीति निर्माणलगायत सबै व्यवस्थापनका काम गर्न  परिषद्का पदाधिकारीलाई सुझाव दिनुभयो । प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष ओलीले हाल राष्ट्रिय एवं क्षेत्रीय सुरक्षा चुनौतीबाट कुनै खतरा नदेखिएको र राष्ट्रको शान्ति सुरक्षाको अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।

मुलुकमा सङ्घ, प्रदेश र स्थानीय तीन वटै तहको निर्वाचन भई कार्यान्वयनमा आएको अवधिका विषयवस्तु प्रतिवेदनमा समेटिएको उल्लेख गर्दै प्रधामन्त्री ओलीले भन्नुभयो, “परिषद्को निर्णयबाट परिचालन भएको नेपाली सेनाबाट निर्वाचनलाई भयरहित, स्वच्छ र निष्पक्ष निर्वाचन ठूलो योगदान पुगेको छ ।”

सरकारलाई संसदीय समितिको निर्देशन
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौं तराई–मधेस द्रुतमार्गमा पर्ने ललितपुर प्रभावितका माग पूरा गर्न निर्देशन दिएको  । समितिको शुक्रबारको बैठकमा द्रुतमार्गमा पर्ने महानगरपालिकाका वडा नम्बर २१ र २२ का स्थानीय प्रभावितहरूका माग पूरा गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिइएको हो । 

राज्यव्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकले द्रुतमार्गको ’जिरो किलो’ खोकना र बुङमतीका स्थानीयलाई आवश्यक मुआब्जा दिन, उक्त क्षेत्रका सांस्कृतिक, पुरातात्त्विक, ऐतिहासिक सम्पदाको संरक्षण गर्न र स्थानीयसँग भएको सहमति कार्यान्वयन गर्न निर्देशन दिएको हो। स्थानीय, जनप्रतिनिधि, सरोकारवाला, आयोजना प्रमुखहरूसँग भएको १० बुँदे सहमति कार्यान्वयन नभएकामा समितिको गम्भीर ध्यानाकर्षण भएको समिति सभापति शशि श्रेष्ठले बताइन्। 

न्यायधिवक्ताविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायधिवक्ता कोषहरि निरौलाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । ठगी मुद्दा मिलाईदिन्छु भनी सेवाग्राहीसँग लिएको ८० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका निरौलालाई भ्रष्टाचार निवारण ऐनवमोजिम कैद सजाय र जरिवाना गर्नुपर्ने अयोगको दाबी छ ।

आयोग टोलीले कम्पनी रजिस्टार कार्यालय त्रिपुरेश्वरमा करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पुर्णचन्द्र आत्रेयलाई ७ हजार घुससहित शुक्रबार पक्राउ गरेको छ ।, कान्तिपुर दैनिकमा खबर छ ।

आगलागीबाट १३ घर जले
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ स्थित बभनगा, कट्टी टोलमा शुक्रबार साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन् । गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहका अनुसार आगलागीबाट करिब ४० लाख मूल्य बराबरको क्षति भएको छ । बिन्देश्वर साफीको घरबाट सल्केको आगोले उनकोसहित आनन्द साफी, मन्नु साफी, प्रयाग साफी, प्रसाद साफीलगायतको घर जलेको स्थानीयवासीले जानकारी दिएका छन् । 

नक्कली नागरिकता बनाएको अभियोगमा चार पक्राउ 
नक्कली नागरिकतालगायतका कीर्ते कार्यमा संलग्न रहेको अभियोगमा धनुषा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयद्वारा शुक्रबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनीहरूलाई सार्वजनिक गरिएको हो । 

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२० देउरा रूपैठाका ३१ वर्षीय रोशनकुमार चौधरी, औरही गाउँपालिका–५ का वडासदस्य ४९ वर्षीया गङ्गा साह, रौतहट दुर्गा भगवती गाउँपालिका–४ घर भई हाल जनकपुर उपमहानगरपालिका–४ बस्ने हेमन्त पाण्डे र धनुषा जिल्ला प्रशासन कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत ४२ वर्षीय  महावीर मण्डल छन् । प्राप्त सूचनाका आधारमा देवपुरा रूपैठा बस्ने विद्यानन्द चौधरीका छोरा रोशनकुमार चौधरीको डेरा गरी बस्ने कोठामा खानतलासी गर्दा नक्कली नागरिकतालगायतका कीर्ते कागजात फेला परेको प्रहरीले जनाएको छ । 

आठ हजार सवारी पञ्जीकरण
यातायात व्यवस्था विभागमा पञ्जीकरण हुने सवारीको सङ्ख्या आठ हजारमात्र रहेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाबमोजिम मङ्सिर मसान्तसम्म पञ्जीकरण नहुने सार्वजनिक यातायात आगामी पुस १ गतेदेखि गुड्न नपाउने विभागले मङ्सिर २२ गतेसूचना प्रकाशित गरी जानकारी गराएको थियो । 

विभागमा पञ्जीकरण हुन तोकिएको आठ महीनाको अवधिमा तीन हजार कम्पनीका आठ हजार सवारीको मात्र अभिलेख आएको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई विभागमा पञ्जीकरण गरेर मात्र सार्वजनिक यातायात चलाउन संसद्को विकास समितिले २०७४ साल भदौ ५ गते सरकारलाई निर्देशन दिएको थियो । यससम्बन्धी व्यवस्था गर्न विभागले गत चैत १८ गते निर्देशिका समेत जारी गरेको थियो । कम्पनीमा दर्ता भएर विभागमा पञ्जीकरण नभएका सवारी सडकमा गुडे नियन्त्रणमा लिइने विभागले जनाएको छ । 

गोरु काटेको आरोपमा दश जना पक्राउ 
सुनसरीको धरान उपमहानगरपालिकाबाट गोरु काटेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–३ का राजेश खड्गी, राजेन्द्र खड्गी, आशिष खड्गी, धरान–११ का अनिल शाही, अनिष शाही, सुनसरी भोक्राह नर्सिङ–३ का बहिस मियाँ, रिजमान मियाँ, शाहदत्र मनसुरी, आशिक मनसुरी र महमुदी मनसुरी रहेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए । इलाका प्रहरी कार्यालय धरानबाट गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले चार गोरु काट्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । 

महिला साफ च्याम्पियनसिप खेल तालिका सार्वजनिक
आगामी फागुन २८ देखि चैत ८ गतेसम्म नेपालमा आयोजना हुने पाँचांै संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शुक्रबार सार्वजनिक गरेको खेल तालिकामा नेपाल समूह ’ए’ मा परेको छ । 

नेपालले पहिलो खेलमा भुटानसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दा अन्तिम खेलमा बङ्गलादेशसँग खेल्नेछ । नेपालले उद्घाटन खेल फागुन २८ मा भुटानसँग खेल्नेछ । दोस्रो खेलमा २९ गते पाकिस्तान र चैत १ गते बङ्गलादेशसँग खेल्नेछ । प्रतियोगिताका सबै खेल विराटनगरस्थित शहीद रङ्गशालामा हुने  एन्फाले जनाएको छ समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलङ्का रहेका छन् । 

साफ च्याम्पियनसिपका लागि नेपाली महिला टोलीले तयारी समेत शुरु गरिसकेको छ । प्रतियोगिता आउन तीन महीना बाँकी छँदै एन्फाले महिला टोलीको तयारी अघि बढाएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अहिले ३३ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ । दक्षिण एशियाली महिला फुटबलको राम्रो टोली नेपालले अहिलेसम्म भारतको वर्चस्व तोड्न सकेको छैन । सबै संस्करणको उपाधि भारतले जितेको छ । नेपाल अहिलेसम्म फाइनलमा भारतसँग पराजित हुँदै आएको छ ।

यसअघि उक्त प्रतियोगिता श्रीलङ्काले आयोजना गर्ने निर्णय भएकोमा श्रीङ्कमा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताका कारण प्रतियोगिता गर्न नसक्ने जनाएपछि  दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)ले निर्धारित समयभन्दा एक महीनापछि सारेर नेपाललाई आयोजनाको जिम्मा दिएको हो । घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्यका राखेको नेपाली महिला टोली खड्काको प्रशिक्षण तथा निरु थापाको कप्तानीमा रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्