
काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी भित्रको विवादका विषयमा छलफल हुनुपर्ने बताएका छन् । समस्याहरु समाधानका लागि घरभित्रै प्रयास गरिनुपर्ने उनको भनाइ छ ।
आजबाट राजधानीमा शुरु भएको महासमिति बैठकको उद्घाटनसत्रमा आफ्ना धारणा राख्दै नेता सिटौलाले केन्द्रका नेताले कहिलेकाही गल्ती गर्न सक्ने भन्दै त्यसलाई सचेत बनाउने काम महासमिति सदस्य र कार्यकर्ताहरुको भएको बताए ।
उनले आफ्ना कुरा मात्र ठिक भन्ने अवस्थाबाट सबै मुक्त हुनुपर्ने बताए ।
सबै कुरा केन्द्रका नेताहरूले मात्र जानेका हुँदैनन् भन्दै सिटौला महासमिति सदस्यहरू प्रति इंगित गर्दै भन्छन् ‘बीपीलाई स्मरण गर्नुहोस्, बीपीले कहिल्यै आफ्नो कुरा मात्र राम्रो छ भन्नु भएन, केन्द्रका नेताहरू पनि सबै ठीक छैनन्, महासमिति सदस्यहरूले केन्द्रका नेताहरूलाई गल्ती नगर्ने मौका दिनुपर्छ । तपाइँहरूका केही आलोचना छ भने घरभित्रै भन्नुहोस् ताकि हामी सुध्रिने मौका पाउँ ।’
नेता सिटौलाले ‘वर्तमान सरकारले जनतालाई दण्डित गरेको’ बताए।
‘सरकार जनताको लागि हुनुपर्ने हो, तर यो सरकार नेताहरूको लागि बनेको छ’ भन्दै सिटौला अघि थप्छन्, ‘चुनावपछि सरकारले जनतालाई पुरस्कृत गर्नुपर्ने हो तर यो सरकारले जनतालाई दण्डित गरेको छ । महंगी आकाशिएको छ, तर सरकारले आँखा चिम्लिरहेको छ, यो सरकारले लोकतान्त्रिक मूल्य र मान्यतालाई विनाश गर्न लगिरहेको छ ।’