२७ असार २०८३, शनिबार

पौडेलको जवाफ– देउवा र मैले सँग-सँगै जवानी दिएका छौं, किन एकता नहुनु

मंसिर २९, २०७५
पौडेलको जवाफ– देउवा र मैले सँग-सँगै जवानी दिएका छौं, किन एकता नहुनु

काठमाडौं–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा देखिएको संकटलाई सामना गर्नका लागि एकता गर्नुपर्ने बताएका छन् । 

आजबाट राजधानीमा शुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकको उद्घाटनसत्रमा आफ्ना धारणा राख्दै वरिष्ठ नेता पौडेलले रियालिस्टिक बनेर एकता गर्नुपर्ने, इस्यु र कार्यशैलीमा एकता गर्नुपर्ने बताए । 

भाषण गर्ने अधिकांश नेताले सभापति शेरबहादुर देउवा र पौडेल एक भएर अघि बढ्नुपर्ने बताएका थिए । त्यसको जवाफमा नेता पौडेलले भने,‘किन नहुने हामी भर्खरै जुँगाको रेखी बसेको बेलामा जेलका कालकोठारीहरुमा सँगसँगै एउटै दुख भोगेका एउटै लक्ष्य लिएर हिँडेका, सँगै जवानी दिएका व्यक्तिहरुका बीचमा एकता किन नहुने मेल किन नहुने ? ’

उनले यसो भनिरहँदा महासमितिमा भागलिन आएका प्रतिनिधिले ताली पिटेका थिए । लगत्तै नेता पौडेलले भने,‘तपाईहरु सबैले उठेर भन्दै गर्दा मैले पत्याइरहेको थिइन म तपाईहरुलाई नै प्रश्न गर्छु, यहाँ बाट फर्केर जिल्लामा जाँदा तपाईहरु एक हुनुहुन्छ कि हुन्न ? जिल्लामा जाँदा छिर्केदाउ चल्ने हो कि होइन ।’

आफूले यस्ता कुराहरु धेरै पटक भोगेको भन्दै नेता पौडेलले भने,‘यस्तो कुरा धेरै चोटि भोगेको छु म भुक्त भोगि मान्छे हुँ तर म अगुल्टोले हानेको कुकुर विजुली देखि तर्सन्छ भने जस्तो किसुनजी र गणेशमान, गिरिजाहरुले पोखरामा हात मिलाउनु भयो, मैले भने तपाइहरुले हात मिलाउने काठमाडौमा पुगेपछि के गर्ने भने नभन्दै यत्रो दुर्घटना भए ।’

पौडेलले भने,‘ त्यसैले म भन्छु रियालिस्टिक बनेर एकता गरौं इस्युमा एकता गरौं कार्यर्शैली, पार्टी मजबुद बनाउन के के गर्ने भन्ने कुरामा एकता गरौं, अब नेपाली कांग्रेस को संकटलाई सामना गर्नका लागि एकता गरौं ।’
उनले आगामी चुनावको सामना गर्नका लागि कांग्रेसलाई मजबुद बनाउनुपर्ने बताए । 

चुनावको हारलाई जीतमा परिणत गर्नुपर्ने भएकाले त्यसमै कांग्रेस केन्द्रीत हुनुपर्ने उनको भनाइ थियो । 

पार्टी भित्रका सबै कुरा मिलाएर एकमत भएर सम्पूर्ण एकतावद्ध भएर गाउँगाउँमा पुग्नु अहिलेको आवश्यकता भएको नेता पौडेलले बताए । 

‘हामीले हचुवाको भरमा उम्मेदवारी दियौं जनतामा को भिजेको छ त्यसको हिसावकिताव हुनसक्यो कि सकेन ? आफ्ना मान्छेलाई टेलिफोन गरेर टिकट बाँड्ने काम भयो अब यो चल्दैन यसरी कम्युनिष्टसँग सामना गर्न सकिँदैन’ नेता पौडेलले भने ।

आगामी दिनमा क्यालेन्डर बनाएर अघि बढ्नुपर्ने पौडेलको भनाइ थियो । 

salt training

कमेन्ट गर्नुहोस्