
काठमाडौं — पहेंलो ज्याकेट विरोधकर्ताहरू शनिवार पनि पेरिस र फ्रान्सका अन्य शहरमा भेला भएका छन् ।
लगातार पाचौं सप्ताहान्तमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । मंगलवार स्ट्रासबूर्गको क्रिसमस बजारमा भएको आक्रमणपछि सरकारले विरोध रोक्न आह्वान गरेको भएपनि विरोधकर्ताहरूले टेरेनन् ।
तर पहिलेपहिलेको भन्दा कम मानिस प्रदर्शनमा आए । अधिकारीहरूले जम्मा ६६ हजार मानिसले प्रदर्शनमा भाग लिएको बताए । अघिल्लो शनिवार एक लाख २५ हजार मानिस भेला भएका थिए ।
इन्धनको करमा भएको वृद्धिको विरोधमा शुरू भएको आन्दोलनमा अहिले शिक्षामा सुधार लगायतका अन्य माग पनि थपिएका छन् ।
पहेंलो ज्याकेट आन्दोलनमा अहिलेसम्म सातजनाको मृत्यु भइसकेको छ । शुक्रवार भएको एक बन्दमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
पेरिसमा दुई हजारभन्दा बढी मानिस चिसो र पानी परेको दिनमा भेला भएका थिए ।
प्रहरीले पेरिसमा १६८ मानिसलाई रोकेर प्रश्न गरेको थियो । तीमध्ये ११५ लाई हिरासतमा पनि लिएको हो ।
दिनभरिमा अनेकौंपटक शम्स एलीसीजमा झगडा भएका थिए । प्रहरीले अश्रूग्यास र पानीको फोहरा प्रयोग गरेको थियो । तर रात परेपछि यहाँको यातायाता खोलाइएको थियो ।
बीबीसीबाट