
काठमाडौं– नेकपाका नेता एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले घरभाडाबापत संसद सचिवालयबाट लिएको ९० हजार रुपैयाँ फिर्ता गर्ने बताएका छन् ।
घरभाडा वापत आफ्नो नाममा जम्मा भएको २०७४ फागुनदेखि २०७५ मंसिरसम्म दश महिनाको ९० हजार रुपैयाँ फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई भट्टराईले आग्रह गरेका छन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै सांसद भट्टराईले संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका संसद सदस्यहरुको विवरण फारम भराउँदा आफूले काठमाडौंमा आफ्नो घर भएको कुरा पहिले नै स्पष्ट रुपमा उल्लेख गरेको भएपनि घर भाडा लिनेको सूचीमा आफ्ना नाम प्रकाशन भएको भन्दै आश्चर्यमा परेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भट्टराईले लेखेका छन्,‘संसदीय क्षेत्रमा अनुभवको कमि तथा संसद सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा म दुःख व्यक्त गर्दछु ।’
लामो राजनीतिक यात्रा तय गरेर हिँडेको व्यक्तिबाट कुनै गैरकानुनी तथा गलत आचरणका कार्य नहुने कुरामा आफू प्रतिबद्ध रहेको उनले विज्ञप्तिमा उल्लखे गरेका छन् ।