१० असार २०८३, बुधबार

अध्यादेशविरुद्ध स्थानीय तहका कर्मचारीद्वारा आन्दोलन घोषणा

पुस १, २०७५
अध्यादेशविरुद्ध स्थानीय तहका कर्मचारीद्वारा आन्दोलन घोषणा

बुटवल– स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । सरकारले कर्मचारी समायोजनका काम जारी राखेका बेलामा स्थानीय तहका कर्मचारीहरुले आन्दोलन सुरु गरेका हुन् ।   

स्थानीय तहमा कार्यरत कर्मचारीहरुआवद्ध स्थानीय तह कर्मचारी संघ, स्थानीय तह कर्मचारी युनियन, नेपाललगायतका संघ, संगठनहरुले कर्मचारी समायोजन अध्यादेश विधेयकले आफूहरुलाई विभेद गरेको उल्लेख गर्दै त्यसको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन ।

बुटवलमा पनि कर्मचारीहरु आजदेखि आन्दोलनमा छन् । आइतबार नगरपालिकामा पत्रकार सम्मेलन गर्दै उनीहरुले केन्द्रको आन्दोलनका कार्यक्रमहरु सरह नै आफुहरु आन्दोलनमा उत्रिएको कर्मचारी एसोसिएशनका अध्यक्ष ठगिश्वर पोखरेलले बताए । 

निजामती कर्मचारी र आफूहरुलाई दिने सेवा, सुविधामा नै विभेद भएपछि सो अध्यादेश विरुद्ध आन्दोलनमा जान बाध्य हुनु परेको स्थानीय तह कर्मचारी संघका प्रदेश संयोजक तथा केन्द्रीय कोषाध्यक्ष सितुप्रसाद श्रेष्ठले जानकारी दिए  । 

पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्ति अनुसार विरोध स्वरुप धर्नामा बस्ने, कालो पट्टी बाँध्ने र कार्यक्रम अनुसार यही पुस १० गते काठमाडौंमा विरोध सभा आयोजना गर्नेलगायत रहेका छन् ।

कर्मचारीहरुले संघले साविकको स्थानीय निकायमा कार्यरत श्रेणीविहिन कर्मचारीहरुको तह, सेवा र सुविधा तत्काल वृद्धि गर्न पनि सरकारलाई दवाव दिन आन्दोलनको घोषणा गरिएको जानकारी दिएका छन् ।

संघका बुटवल नगर अध्यक्ष पोखरेलले निजामती कर्मचारीहरुलाई अघि सारेर आफूहरुलाई विभेद नगर्न सरकारलाई पटकपटक आग्रह गर्दा पनि सुनुवाइ नभएकाले देशैभरी एकसाथ आन्दोलन गर्नुपनरेको बताए  । 

यस्तो खालका कर्मचारीहरु करिब १७ हजार रहेका छन् भने बुटवलमा मात्रै दुई सय भन्दा धेरै छन् । विभिन्न समयमा नियुक्त भएका कर्मचारीहरुलाई काम र योगदानका आधारमा मूल्यांकन हुनुपर्ने कतिपयको गुनासो छ । सरकारले प्रदेश र स्थानीय तहको कर्मचारी समायोजनाको नाममा निजामती कर्मचारीहरुलाई मात्रै प्रोत्साहन गरेको स्थानीय तहमा कार्यरत कर्मचारीहरुको आरोप छ । 
 

salt training

कमेन्ट गर्नुहोस्