३१ असार २०८३, बुधबार

कांग्रेस महासमिति बैठकस्थलमा हिन्दूराष्ट्रका लागि हस्ताक्षर अभियान, ५०० भन्दा बढीको हस्ताक्षर

पुस १, २०७५
कांग्रेस महासमिति बैठकस्थलमा हिन्दूराष्ट्रका लागि हस्ताक्षर अभियान, ५०० भन्दा बढीको हस्ताक्षर

काठमाडौं -राजधानीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा सनातन हिन्दूराष्ट्रको माग गर्दै महासमिति सदस्यहरूले हस्ताक्षर अभियान चलाएका छन् । सिंहदरबार मूल ढोकाअगाडि योगम्बर पार्टी प्यालेसमा आयोजना गरिएको महासमिति बैठकभित्र छिर्ने गेटमा ब्यानर नै टाँगेर हिन्दूराष्ट्रका लागि हस्ताक्षर अभियान चलाइएको हो । 

पूर्व सांसद एवं कांग्रेस महासमिति सदस्य शंकर पाण्डेले देशलाई वैदिक सनातन हिन्दूराष्ट्र बनाउनका लागि हस्ताक्षर अभियान चलाइएको दाबी गरे । लोकान्तरसँग पाण्डेले भने, ‘अब देश जोगाउने जिम्मा नेपाली कांग्रेसको मात्र नभएर ९४ प्रतिशत सनातन धर्मावलम्बीहरूको काँधमा आएको छ ।’ 

उक्त हस्ताक्षर अभियानमा ५ सयभन्दा बढी महासमिति सदस्यहरूले हस्ताक्षर गरेर सहभागिता जनाइसकेका छन् । लोकान्तरकर्मी हस्ताक्षर अभियान चलिरहेको ठाउँमा पुग्दा कांग्रेसबाट काठमाडौं उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित हरिप्रभा खड्की हस्ताक्षर गर्दै थिइन् ।

नेपाली कांग्रेसभित्र हिन्दूराष्ट्रको माग बेलाबेलामा उठ्ने गरेको छ । केही दिनअगाडि महासमिति बैठक तयारीका लागि केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा पनि धर्मकै विषयमा चर्काचर्की भएको थियो ।

प्रस्तावित विधानमा ‘धर्मनिरपेक्षतालाई कांग्रेसको नेतृत्वमा भएको महत्त्वपूर्ण उपलब्धि’ भनेर उल्लेख गरिएपछि हिन्दूराष्ट्र पक्षीय नेताहरू बैठकमा आक्रामक रूपमा प्रस्तुत भएका थिए । 

पार्टी महामन्त्री शशांक कोइरालाले समेत नेपाललाई हिन्दूराष्ट्र बनाउनका लागि जनमत संग्रह गर्नुपर्छ भन्ने अभिव्यक्ति बेलाबखत दिने गरेका छन् ।

महासमिति बैठक स्थलमा भेटिएका कोइरालाले अहिले आफू केही नबोल्ने तर बैठकमा हिन्दूधर्मको पक्षमा जोडदार आवाज उठाउने संकेत दिए ।

salt training

कमेन्ट गर्नुहोस्