२५ जेठ २०८३, सोमबार

रेल कुद्ने लीगले समस्या, जनकपुरको सडक यात्रा घुमाउँरो

पुस २, २०७५
रेल कुद्ने लीगले समस्या, जनकपुरको सडक यात्रा घुमाउँरो

जनकपुरधाम – रेलको लीग निर्माणका कारण धनुषाका विभिन्न सडक सञ्जाल अवरुद्ध भएका छन् ।

जनकपुरधाम शहरसँग जोडिने ग्रामीण क्षेत्रका कतिपय सडक सञ्जालको सम्पर्क रेलको लीगले अवरुद्ध गरेको छ ।

विगतमा ‘न्यारो गेज’मा रेल सेवा सञ्चालित हुँदा उत्तर र दक्षिण जोड्ने सडकमा कुनै पनि किसिमको समस्या थिएन । तर अहिले ‘ब्रोड गेज’ प्रणालीको रेल लीग बनेपछि समस्या भएको हो ।

भारतको जयनगरदेखि धनुषाको जनकपुर हुँदै कुर्थासम्म २३ वटा रेल लीग क्रसिङ (रेलको लीगमाथि बाटो वारपार गर्ने ठाउँ) निर्माण भएको छ । रेल मार्गमा पर्ने सडकमा रेल आउने जाने बेला ढाट लगाएर सवारीदेखि मानिसको आवगमन अवरुद्ध गर्ने गरिन्छ । त्यसलाई नै रेल लीग क्रसिङ भनिन्छ ।

रेल निर्माण गरिरहेको भारतीय पक्षले रेलको लीग जोडिने २३ स्थानमा मात्र सडक आवागमनका लागि मार्ग निर्धारण गरेपछि धनुषाका कतिपय स्थानीय सडक प्रभावित भएका छन् ।

रेल लीग क्रसिङका लागि जनकपुरमा ७ वटा ठाउँ छुट्याइएको छ । रेल्वे हल्टदेखि पश्चिम सीता चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सामुन्ने, पूर्वराष्ट्रपति डा. रामवरण यादवको घर नजिकको सडक, पिडारी चोक, रत्नसागर मन्दिर, परिक्रमा सडक अन्तर्गत पिडारी गाउँ, कुर्थाभन्दा पूर्व पिडारी गाउँ र कुर्था रेल्वे स्टेसनभन्दा पूर्व गरी ७ स्थानमा क्रसिङ निर्माण भएको छ ।

धनुषाको प्रमुख स्थान धनुषाधामदेखि जनकपुरधामसम्म जोड्ने परशुराम मार्ग अब रेल ट्रयाकका कारण अवरुद्ध हुने भएको छ । रेल सञ्चालन नभएको अवस्थामा कम्तिमा पनि हजारौं व्यक्तिको आवागमन सडक सञ्जालमार्फत् हुने गरेको स्थानीय युवा नविनकुमार यादवले बताए ।

रेल लीग क्रसिङ नबनेका कारण दैनिक दर्जनौं सवारीसाधन दुर्घटनामा परिरहेको अवस्थामा क्रसिङ नबने स्थानीयले रेल सञ्चालन हुन नदिनेसम्मको आन्दोलन हुन सक्ने यादवले बताए । सडक भएरै स्कूल बस चलाउने जनकपुरकै ठूलो निजी विद्यालय मोनास्टिक स्कूल सञ्चालित छन् । 

विद्यालयका प्रिन्सिपल डा. सोनुकुमार साहले भने, ‘मेरो विद्यालयमा दैनिक १४ बस र १५ सय विद्यार्थी आउने जाने गर्छन् । क्रसिङ नहुँदा विद्यार्थीलाई समेत मर्का परेको छ ।’

अन्य कतिपय स्थानमा क्रसिङ निर्माण नहुँदा सवारीसाधन आवागमनमा समस्या भइरहेको प्रश्नमा रेल साइट कार्यालय जनकपुरका इन्चार्ज ई. विनोदकुमार ओझाले लोकान्तरसँग भने, ‘भारतीय पक्षले जनाएअनुसार एउटा लीग क्रसिङदेखि अर्को क्रसिङसम्म कम्तिमा पनि ३ सय मिटर दूरी हुनुपर्ने मान्यता अनुसार नै क्रसिङ निर्माण गरिएको छ ।’ 

जनकपुरधामको रेल्वे स्टेसनदेखि पिडारी चोकसम्म भारतीय पक्षले रेल्वेको दक्षिणतर्फ सडकमुनि ढल निकाससहित सडक निर्माण गरेर सवारी आवागमनको समस्या हल गर्ने कुरा अगाडि बढेको ओझाले बताए । ‘भारतीय पक्षले त उक्त सडक बनाउँदैन । तर भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ जनकपुरकै भएका हुनाले नेपाल सरकारकै लगानीमा सडक बन्ने कुरा भइरहेको छ,’ उनले भने । करीब १२ सय मिटर भूमिमुनि ढल निकाससहित सडक निर्माण गरिने उनले बताए ।

रेल सञ्चालन हुने मिति तोकिएको छैन । कुनै सुरसार पनि देखिएको छैन । नेपाल र भारतलाई जोड्ने रेल मार्गले दुवै देशका लाखौंलाख यात्रुले लाभ लिने भएपनि नेपालका कतिपय मानिसलाई रेल निर्माण भएपछि आवागमनमा समस्या उत्पन्न भएको छ । नजिकै जान पनि लीग क्रसिङसम्म पुगेर जानुपर्दा लामो यात्रा गर्नुपर्ने बाध्यता भएको छ ।

‘जुन ठाउँमा क्रसिङ निर्माण भएको छैन, ती स्थानमार्फत् सवारी आवागमन गर्न निषेध गरिने छ । कसैले क्रस गरेपनि दुर्घटना हुन सक्ने सम्भावना प्रबल रहने छ,’ साइट कार्यालय जनकपुरका इन्चार्ज ओझाले भने, ‘विगतमा न्यारो गेज रेल २० देखि २५ किलोमिटर प्रतिघण्टाको गतिमा सञ्चालन हुन्थ्यो भने अहिलेको ब्रोड गेजको रेल कम्तिमा पनि १ सय किलोमिटर प्रतिघण्टाको गतिमा गुड्ने हुनाले निश्चित स्थानमार्फत् मात्र सवारीसाधन क्रसिङ गर्न व्यवस्था मिलाइएको छ ।’

सडक सञ्जालमा कुनै समस्या नहोस् भन्ने उद्देश्यले संघीय सरकारको लगानीमा जनकपुरमा ३ स्थानमा आकाशे पुल समेत बनाउने कुरा भइरहेको बताइएको छ । पिडारी चोक, पूर्वराष्ट्रपति रामवरण यादवको घर अगाडि र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि आकाशे पुल बनाउने कुरा भइरहेको ओझाले बताए । 

रेल लीग पूर्वपश्चिम दिशामा बिछ्याइएको छ भने उत्तर दक्षिण दिशाका सडकहरू प्रभावित भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्