काठमाडौँ, २२ फागुन -सरकारले स्थानीय तहको संख्या ७४४ कायम गर्ने निर्णय गरेको छ । आइतबार अबेर सम्पन्न मन्त्रिपरिषद् बैठकले स्थानीय तहको संख्या ७४४ कायम गर्ने निर्णय गरेको संघीय मामला तथा स्थानीय विकासमन्त्री हितरात पाण्डेले जानकारी दिए ।

यसअघि स्थानीय तह पुनर्संरचना आयोगले ७ सय १९ संख्या सिफारिस गरेको थियो भने मधेसी मोर्चाको त्यसमा असन्तुष्टिपछि गठित स्थानीय विकासमन्त्री पाण्डे संयोजकत्वको कार्यदलले संख्या थप्नेसहितको प्रतिवेदन बुझाएको थियो ।
पाण्डेका अनुसार दुई नम्बर प्रदेशमा २१ स्थानीय तह थप भएको छ । काठमाडौंमा शंखरापुर र दक्षिणकालीलाई नगरपालिका बनाइँदै दुई स्थानीय तह थप गरिएको छ । यसअघि दक्षिणकाली र शंखरापुराका बासिन्दा नगरपालिकालाई नै स्थानीय तहको मान्यता दिइनुपर्ने भन्दै आन्दोलित थिए ।
मनाङ र बझाङमा एक एक स्थानीय तह थप गर्ने निर्णय बैठकले गर्दा नुवाकोटमा प्राविधिक समितिको सिफारिसलाई नै मान्यता दिइएको छ ।