०१ असार २०८३, सोमबार

एमाले प्रस्ताव पहिले संसद् निर्वाचन

कात्तिक २०, २०७४
एमाले प्रस्ताव पहिले संसद् निर्वाचन
काठमाडौं, १ पुस - प्रमुख प्रतिपक्षी दल एमालेले संघीय संसद्को निर्वाचन पहिले गर्नुपर्ने निष्कर्ष निकालेको छ । सरकारले पुरानै संरचनाअनुसार स्थानीय निकायको निर्वाचन गराउने अन्तिम गृहकार्य गरिरहेका बेला एमालेले पहिला संघीय संसद्को निर्वाचन गर्नुपर्ने निष्कर्ष निकालेको हो , आजको राजधानी दैनिकमा खबर छ ।

बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले पछिल्लो राजनीतिक अवस्थाबारे गम्भीर छलफल गर्दै संवैधानिक संकट टार्न पहिला संघीय संसद्को निर्वाचन गर्ने प्रस्ताव अघि सारेको हो । एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले तीनै तहको निर्वाचनमा सरकारले गरिरहेको ढिलाइका कारण समस्या समाधानका निम्ति पहिला संघीय संसद्को निर्वाचन गर्नुपर्ने निष्कर्ष निकालिएको जानकारी दिए । ‘संविधानमा भएको व्यवस्थानुसार तीनै तहको निर्वाचन तोकिएको समय (७ माघ २०७४) भित्र गर्न सरकारले आलटाल गरिरहेको हाम्रो निष्कर्ष छ,’ पोखरेलले भने, ‘थप समस्या आउन नदिनका लागि पहिला संघीय संसद्को निर्वाचन गर्न उचित हुन्छ भन्ने बैठकको निष्कर्ष हो ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको कांग्रेस–माओवादी गठबन्धन सरकारले स्थानीय तहको निर्वाचनसम्बन्धी विधेयक संसद्मा दर्ता गराएको भोलिपल्ट बसेको एमाले स्थायी कमिटी बैठकले स्थानीय निकायको निर्वाचन हुने सम्भावना सरकारले टार्दै गएको निष्कर्ष निकाली पहिला संघीय संसद्को निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले मंसिर महिनाभित्रै स्थानीय निर्वाचन गर्ने कार्ययोजना अघि बढाएको थियो । ओली सरकारले अघि सारेको कार्ययोजना वर्तमान सरकारले स्थगित गर्दै वैशाख दोस्रो साताभित्र गराउने बताउँदै आएको छ ।

एमालेले भने सरकार स्थानीय निर्वाचन टार्दै जाने रणनीतिका साथ अघि बढेको दाबी गरेको छ । सरकारको तयारीअनुसार ७ माघ २०७४ भित्र तीनै तहको निर्वाचन असम्भव बन्दै गएकाले थप सृजना हुने जटिलतालाई समाधान गर्न पहिला संसद्को निर्वाचन गर्न अन्य दलसँग छलफल गर्ने निर्णय गरिएको पोखरेलले बताए ।

एमाले स्थायी कमिटीले संविधानसम्मत निर्वाचन गर्नुपर्ने ठहरसमेत गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्