
काठमाडौं — प्रेमियर लीगको क्लब म्यानचेस्टर युनाइटेडले क्लबका पूर्व स्ट्राइकर ओल गन्नर सोल्सकाएरलाई सन् २०१८–१९ को सीजनको अन्त्यसम्मका लागि कामचलाउ व्यवस्थापक नियुक्त गरेको छ ।
जोसे मोउरिन्होलाई व्यवस्थापकबाट बर्खास्त गरेपछि क्लबले सोल्सकाएरलाई नियुक्त गरेको हो ।
मोउरिन्होको व्यवस्थापनमा क्लबले यस सीजनमा निकै खराब प्रदर्शन गरेको छ । आइतवार एनफील्डमा लिभरपूलविरुद्ध ३–१ ले हारेपछि पोर्चुगाली प्रशिक्षक मोउरिन्होको दिन सकिएको थियो ।
त्यसमाथि उनले क्लबका खेलाडी र व्यवस्थापन पक्षसँग पनि राम्रो सम्बन्ध नबनाएको चर्चा चल्थ्यो ।
नर्वेली खेलाडी सोल्सकाएरले युनाइटेडमा सन् १९९६ देखि २००७ सम्म खेलेका ३६६ खेलमा १२६ गोल गरेका थिए । सन् १९९९ मा च्याम्पियन्स लीगको फाइनलमा युनाइटेडका लागि निर्णायक गोल गरेर उनी क्लबका लेजेन्ड बनेका
थिए । त्यो वर्ष युनाइटेडले प्रेमियर लीग र एफए कप पनि जितेको थियो ।
नयाँ पूर्णकालीन व्यवस्थापक नपाउन्जेलका लागि सोल्सकाएरलाई क्लबको व्यवस्थापनको जिम्मा दिइएको छ ।
उनले म्यानचेस्टर युनाइटेडको रिजर्भ टीमको व्यवस्थापन सन् २००८ मा सम्हालेका थिए र त्यसपछि नर्वेली लीगमा मोल्डे क्लबलाई दुईवटा उपाधि दिलाएका थिए ।
प्रेमियर लीगमा उनले कार्डिफ क्लब सम्हालेका थिए तर क्लब रेलिगेसनमा परेपछि उनलाई बर्खास्त गरिएको थियो ।
एजेन्सी