
न्यूयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नाममा रहेको ‘फाउण्डेसन’ बन्द गर्न सहमत भएका छन् ।
न्यूयोर्ककी महान्यायाधीवक्ता बार्बरा अन्डरउडले ट्रम्प र उनका तीनजना सन्तानले निजी र राजनीतिक प्रयोजनका लागि उक्त कोषको रकम हिनामिना गरेको आरोपले चर्चा लिँदै गर्दा राष्ट्रपति ट्रम्पले उक्त संस्थालाई बन्द गर्न सहमति दिएका हुन् ।
ट्रम्प फाउण्डेशनका वकिलले भने उक्त विषयलाई महान्यायाधीवक्ताले राजनीतिकरण गर्न खोजेको आरोप लगाएका थिए ।
एउटा विज्ञप्तिमा अन्डरउडले ट्रम्प फाउण्डेशन अचम्मलाग्दो ढाँचाको हिनामिनामा संलग्न भएको लगाएकी थिइन् ।
उक्त परोपकारी संस्था बन्द हुने शर्तबारे बोल्दै अन्डरवुडले न्यायिक सुपरिवेक्षणमा रहेर मात्रै संस्था विघटन हुने र रकम वितरण हुने बताएकी छिन् ।
उनले संस्था बन्द हुन लाग्नुलाई कानूनी शासनका लागि एउटा महत्वपूर्ण जीत भएको भन्दै यो घटनाले नियम सबैका लागि एउटै भएको स्पष्ट पारेको पनि बताइन् ।