०२ साउन २०८३, शनिबार

प्रधानमन्त्रीका सारथी फेर्न दबाब, २३ मन्त्रीले गरे इन्धनमा अनियमितता

प्रधानमन्त्रीका सारथी फेर्न दबाब, २३ मन्त्रीले गरे इन्धनमा अनियमितता

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको विधान मस्यौदामा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे सहमति हुन नसक्दा जारी महासमिति बैठकमा त्यससम्बन्धी प्रतिवेदन अझै पेश हुन सकेको छ्रैन । 

पदाधिकारीको विवादले महासमिति बैठकमा यसअघि नै पेश भएका राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथिको छलफलसमेत ओझेलमा परेको छ । 

महासमिति बैठकमा बोल्ने सहभागीहरूले छलफलका लागि विधान मस्यौदासम्बन्धी प्रतिवेदन माग गरे पनि त्यससम्बन्धी प्रतिवेदन अझै पेश हुन सकेको छैन । पदाधिकारीको सङ्ख्या र चयन प्रक्रिया विवादमा सहमति खोज्ने भन्दै पार्टीको पाँच दिनदेखि राजधानीमा जारी महासमिति बैठकको केही समयसमेत दिनुहँ प्रभावित हुँदै आएको छ । 

लामो रस्साकस्सीपछि मङ्गलबार राति शीर्षनेताबीच त्यसमा सहमति भए पनि बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट प्रतिवेदनको उक्त सहमति पारित हुन सकेन । बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले पदाधिकारी समावेशी नभएको भन्दै शीर्षनेताहरूले गरेको सहमतिमा असहमति प्रकट गरेको बताइएको छ । 
शीर्ष नेतृत्वले मङ्गलबार विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री र एक कोषाध्यक्षसहित आठ पदाधिकारी रहने र कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने सहमति गरेको थियो । साथै कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने र कूल १६१ सदस्यीय केन्द्रीय समितिमध्ये ३३ जना समावेशीताका आधारमा सभापतिबाट मनोनीत हुने सहमति भएको थियो । 

पार्टी केन्द्रीय सदस्य मीन विश्वकर्माले भने बैठकमा अन्तिम मस्यौदा प्रतिवदेनमाथिको छलफल जारी रहेको र बैठक आज बिहिबार पुनः बस्ने जानकारी दिए ।

सबैबीच बिहिबारदेखि  जारी महासमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । 

मेलम्चीमा आन्दोलन
 
मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीको साइट कार्यालयमा बुधबार आयोजनाका कर्मचारीले धर्ना दिएका छन् । 

तलब भत्ता लगायतका पारिश्रमिक नदिई ठेकेदार कम्पनी सिएमसी भाग्न खोजेको भन्दै कर्मचारीले धर्ना शुरु गरेका हुन् । मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले कर्मचारीका मागका विषयमा छलफल गरी टुङ्गो लगाउने आश्वासन दिए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको कर्मचारीले गुनासो गरेका छन् । कर्मचारीका मागका विषयमा थप छलफल तथा सहमति नभएसम्म आन्दोलन जारी राख्ने कर्मचारीले बताएका छन् । 

 डा गिरीको अन्त्येष्टि
पूर्वप्रधानमन्त्री एवं मन्त्रिपरिषद्का उपाध्यक्ष डा तुलसी गिरीको बुधबार पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । 

डा गिरीको अन्तिम इच्छाबमोजिम अन्त्येष्टिमा राज्यले उपलब्ध गराउने सम्मान नलिएको श्रीमती साराह गिरीले बताइन् । 

पशुपतिमा अन्त्येष्टि गरिए पनि गिरीका नाममा कुनै कर्म नगरिने पारिवारिक स्रोतले जनाएको छ ।
 उनको  अन्त्येष्टिमा पूर्वउपप्रधानमन्त्री भीम रावल, पूर्वउपप्रधानमन्त्री कमल थापा, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरी, पूर्व मन्त्री सुनीलबहादुर थापा, टङ्क ढकाललगायत नेता पशुपति पुगेका थिए । गिरीको मंगलबार निधन भएको थियो । 

मोनोरेलको डिपिआरका लागि सम्झौता
 काठमाडौँ महानगरपालिकाको चक्रपथमा मोनोरेल सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गर्न चिनियाँ कम्पनीसँग सम्झौता गरिएको छ । 

काठमाडौं महानगरपालिकाले चाइना रेलवे २५औंँ ब्युरो ग्रुप कम्पनीसँग डिपिआरका लागि बुधबार राजधानीमा सम्झौता गरेको हो । सम्झौतामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र रेलवे कम्पनीका ओभरसिज विजनेस म्यानेजमेन्ट विभाग प्रमुख झ्यू ग्वाङ्विङ्ले हस्ताक्षर गरे ।

नेकपा स्थायी कमिटी बैठक
सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का नेताले प्रधानमन्त्री केपी शर्मा ओलीको सारथी फेर्नुपर्ने माग गरेका छन् । 
केन्द्रीय कार्यालय धुम्बाराहीमा नेकपा स्थायी कमिटी बैठकका क्रममा बुधबार बोल्ने नेताहरुले सरकारको काम प्रभावकारी नभएको भन्दै प्रधानमन्त्रीको सारथी फेर्नुपर्ने माग गरेका हुन् । 
यसअघि पनि सत्तारुढ दलका नेताले सार्वजनिक रुपमै सरकारको कामबारबाहीको विषयमा टिप्पणी गर्दै ओलीको सारथीकै कारण जनताको चाहना र पार्टी घोषणापत्रअनुसार काम हुन नसकेको भन्दै उनका सारथी फेनुुपर्ने माग गरेका थिए । अब यो विषय पार्टी बैठकमै उठेको छ । 
बैठकमा बोल्ने स्थायी कमिटी सदस्य रघुजी पन्तले सरकारका काम कारबाही प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री ओलीले सारथी फेर्नुपर्ने सुझाव पार्टी नेतृत्वलाई दिएका छन् । आजको राजधानी दैनिकले खबर छापेको छ । 

मन्त्रीहरुको दोहोरो लालसा
प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारमा शूल्य सहनशीलताको नारा दोहार्याइरहेका छन् । तर, उनी नेृतत्वका २४ मध्ये २३ मन्त्री र राज्यमन्त्रीले इन्धनमा समेत भ्रष्टाचार गरिरहेका छन् । 
मन्त्रिपरिषद्का सदस्यहरुको पारिश्रमिक सेवासुविधासम्बन्धी ऐनअनुसार इन्धन खर्च लिइरहेका उनीहरुले मन्त्रालय वा मातहतका कार्यालयबाट तेल हालिरहेका छन् । 
अधिकांश मन्त्रीले मन्त्रालयमा सचिवस्तरीय निर्णय गराएर एक सय ५० देखि तीन सय लिटरसम्म इन्धन लिने गरेको भेटिएको छ ।केहीले आवश्यकताअनुसार भन्दै इन्धन लिने गरेका छन् । मन्त्रीको स्वकीय सचिवले पनि गैरकानुनी रुपमा मन्त्रालयबाट गाडी, इन्धनलगायतका सुविधा र स्वकीय सचिवालयका अन्य सदस्यहरुले मोटरसाइकल र इन्धन लिने गरेका छन् । आजको नयाँ पत्रिका दैनिकका अनुसार अर्थमन्त्री युवराज खतिवडा बाहेक अरु २३ मन्त्रीले दोहोरो सुविधा लिएका छन् । 

श्रेया हत्या प्रकरणमा जन्मकैद
गत असोज ९ गते पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीय श्रेया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका कुसुम पौडेललाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । 

कास्की जिल्ला अदालतका न्यायाधीश योगेन्द्रप्रसाद शाहको इजालसले कुसुमलाई जन्मकैदको सजाय सुनाएको हो । पोखरा महानगरपालिका–२२ निवासी मीनबहादुर विकको जाहेरीका आधारमा प्रतिवादी स्याङ्जा स्थायी ठेगाना भई पोखरा कोदी बस्दै आएका २७ वर्षीय कुसुमलाई अदालतले जन्मकैदको फैसला सुनाएको हो । 
कुसुममाथि भएको जन्मकैदको फैसला कास्कीमै पहिलो फैसला हो । हत्या आरोपमा कुसुम गत असोज १० गते नै पक्राउ परेका थिए ।

७७ चोर पक्राउ
काठमाडौँ उपत्यकामा बेग्लाबेग्लै समयमा विभिन्न सडकमा चल्ने सवारी साधनमा पाकेटमारका समूहले साङ्केतिक भाषाको प्रयोग गरेर चोरी गर्ने गरेका छन् । त्यस्तो चारीको क्रम बढेपछि मङ्सिर १५ गतेदेखि महानगरीय प्रहरी परिसर काठमाडौँले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँग मिलेर सादा पोशाकमा प्रहरी खटाएको थियो । 

सो अभियान अन्र्तगत परिसरले ५० प्रहरीलाई चक्रपथ, रत्नपार्क, जमल, कालीमाटी सहितका उपत्यकका विभिन्न क्षेत्रमा सादा पोशाकमा खटाएको थियो । सो क्रममा बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुको साथबाट पकेट तथा झोलामा रहेको नगद, मोबाइल र गरगहना चोर्ने ७७ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान शुरु गरेको छ । 
परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले सार्वजनिक बसमा विभिन्न बस स्टपमा दुई÷दुई जनाको दरले ६ जनासम्म चढ्ने र पैसा भएको यात्रुको पहिचान गरी पकेटमार गर्ने गरेको अनुसन्धानमा खुलेको बताए । 

दोहा बैंकको सम्पर्क कार्यालय राजधानीमा
कतारको राष्ट्रिय बैंक दोहा बैंकको सम्पर्क कार्यालय राजधानीमा स्थापना भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बुधबार आयोजित समारोहमा उक्त कार्यालयको उद्घाटन गरे । 

 

 पत्रकारलाई एक बर्ष जेल सजाय
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली गरी ‘फेसबुकमा सन्देश पोष्ट’ गरेको भन्दै भारतीय प्रशासनले एक जना पत्रकारलाई एक बर्षको जेल सजाय तोकेको छ । 

सामाजिक सञ्जालमा प्रेषित सन्देशलाई लिएर पत्रकारलाई थुन्नुलाई आलोचकहरूले वाक स्वतन्त्रतामाथिको कठोर नीतिको पछिल्लो उदाहरण भनेका छन् । 

गत महिना उत्तरपूर्वी राज्य मनिपुरबाट पक्राउ परेका पत्रकार किशोरचन्द्र वाङखेमलाई कठोर कानूनी उल्लङ्घन  सजाय अन्तर्गत एक बर्षको जेल सजाय गरिएको हो । उक्त कानूनी प्रावधान अनुसार भारतमा कसैले ओहोदामा रहेका अधिकारीमाथि दुब्यवहार वा गालिगलौज गरेमा अदालती सुनुवाइ विना नै एक बर्ष जेलमा राख्न सुरक्षा अधिकारीहरूलाई छुटछ । 
 

salt training

कमेन्ट गर्नुहोस्