
काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियामा रहेका दुई हजारभन्दा बढी अमेरिकी सैनिकहरूको पूर्ण र शीघ्र फिर्तीको आदेश दिएको बताइएको छ । उनले इस्लामिक स्टेटविरुद्ध विजयको घोषणा पनि गरेका छन् ।
ट्रम्पको यो आदेशले अमेरिकाका साझेदार र उनकै सल्लाहकारलाई पनि आश्चर्यमा पारेको छ ।
गत ग्रीष्ममा अमेरिकी सैनिकहरूलाई सिरियामै राख्ने अमेरिकी निर्णयमा अचानक आएको परिवर्तनको व्याख्या गर्न पेन्टागन र परराष्ट्र मन्त्रालयका अधिकारीहरूलाई गाह्रो परेको छ । आईएसआईएसको हार सुनिश्चित गर्न र इरानी
प्रभावविरुद्ध खडा हुन अमेरिकी सैनिकहरू त्यहीँ राखिराख्ने निर्णय लिइएको थियो ।
वरिष्ठ अधिकारीहरूलाई राष्ट्रपतिको निर्णयका विषयमा मंगलवार राति जानकारी दिइएको थियो । ट्रम्पको निर्णय बुधवार बिहान सार्वजनिक भएपछि ट्रम्पले ट्वीट गरे, ‘हामीले आईएसआईएसलाई सिरियामा हराइसकेका छौं, ट्रम्पको
राष्ट्रपतित्वका बेलामा मेरो त्यहाँ उपस्थितिको एक मात्र कारण यही हो ।’
तर ट्रम्पको दाबी उनकै प्रशासनको मूल्यांकन विपरीत छ । यसै वर्षको अगस्ट महिनामा पेन्टागनले सिरियामा अझै पनि १४ हजार ५०० आईएसआईएस लडाकूहरू रहेको मूल्यांकन गरेको छ ।
बेलायत र फ्रान्सले पनि सिरियामा सैनिक खटाएका छन् । बेलायतका रक्षा राज्यमन्त्री टोयिबास एलवूडले ट्रम्पको दाबीलाई खारेज गरेका छन् ।
द गार्डियनबाट