
काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तोकिएको समयमै महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका प्रस्ताव गरेका छन् ।
केन्द्रीय समितिको बुधवार बसेको बैठकमा पौडेलले जनजागरणका कार्यक्रमसाथै महाधिवेशनको मिति तोकेर अगाडि बढ्न प्रस्ताव गरेका हुन् ।
पौडेलले २०७५ पुष १६ देखि २०७६ आषाढ मसान्तसम्म राष्ट्रव्यापी जागरण अभियान, पदयात्रा, गाउँगाउँ र टोलटोलमा वैचारिक र सांगठनिक प्रशिक्षण सहित “सदस्यता वितरण अभियान” चलाउन प्रस्ताव गरेका छन् ।
२०७६ आश्विन मसान्तसम्म “क्रियाशील सदस्यता वितरण र नविकरण” सँगसँगै प्रशिक्षण कार्यक्रम गर्ने पौडेलको प्रस्तावमा उल्लेख छ । २०७६ मंसिर मसान्तसम्म टोल, मतदान केन्द्र, वडा/गाउँपालिका, नगर / उपमहानगर/महानगरपालिका अधिवेशन सम्पन्न गर्न पौडेलले प्रताव गरेका छन् ।
नेता पौडेलले केन्द्रीय समितिमा राखेको प्रस्तावमा २०७६ पौष मसान्तसम्मप्रदेश निर्वाचन क्षेत्र÷प्रतिनिधि सभा निर्वाचन क्षेत्र/जिल्ला अधिवेशन सम्पन्न गर्ने उल्लेख छ ।
२०७६ माघ १६ प्रदेश अधिवेशन सम्पन्न गर्ने र २०७६ फागुन ७ केन्द्रीय महाधिवेशन उद्घाटन गर्ने वरिष्ठ नेता पौडेलको प्रस्तावमा उल्लेख छ ।
महाधिवेशन सम्पन्न गरेलगत्तै २०७६ चैत्र बाट २०७७ असोज मसान्तसम्म नव निर्वाचित सबै तहका समितिहरुको वैचारिक तथा संगठनात्मक प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्ने र देशव्यापी प्रशिक्षण कार्यक्रम चलाउने प्रस्ताव पौडेलले राखेका छन् ।
२०७८ बैशाखबाट निर्वाचनमुखी कार्यक्रम सञ्चालन गर्न प्रस्ताव गरिएको छ । उज्यालो भविष्यका लागी समयबद्ध काम गर्न प्रस्ताव गरेको पौडेलले बताए ।
‘महासमितिको वैठक पश्चात बिलम्ब नगरिकनै पार्टी संगठनलाई सृदृढ र गतिशील बनाउने अभियान सञ्चालन गर्नुपर्दछ । यस अभियानका क्रममा सदस्यता वितरण र प्रशिक्षण अभियानलाई संगसंगै लैजानु पर्दछ’ प्रस्ताव पेश गर्दै पौडेलले भने ।