
काठमाडौं — तपाईं एक वर्षसम्म स्मार्टफोन विना नै बस्न सक्नुहुन्छ भने करोडपति बन्न सक्नुहुनेछ ।
भिटामिनवाटरले एक विशेष कार्यक्रम तयार पारेको छ जसअन्तर्गत विजेतालाई एक करोड रुपैयाँ उपहार दिइनेछ । प्रतियोगितामा भाग लिने मानिसले एक वर्षसम्म स्मार्टफोन चलाउन पाउनेछैन ।
स्मार्टफोनको साटो फोन गर्नका लागि सन् १९९६ मा बनेको एउटा ह्यान्डसेट प्रतियोगीलाई दिइनेछ ।
सीएनबीसीसँग कुरा गर्दै भिटामिनवाटरकी एसोसिएट ब्रान्ड म्यानेजर नातालिया सुरेजले भनिन्, ‘एक करोड जित्ने यो गजबको अवसर हो । जागिर खाँदाखाँदै पनि यो प्रतियोगितामा भाग लिन सकिन्छ । प्रतियोगिताभरि स्मार्टफोन
चलाउन पाइनेछैन र कम्पनीले दिएको फोन मात्र प्रयोग गर्नुपर्नेछ ।’
प्रतियोगितामा भाग लिने अन्तिम समय सन् २०१९ को जनवरी ८ हो । प्रतियोगितामा भाग लिनका लागि ह्याशट्याग नोफोनफरअईयर र ह्याशट्याग कन्टेस्ट #nophoneforayear #contest लेखेर ट्विटरमा वा इन्स्टाग्राममा तपाईंले एक वर्षसम्म स्मार्टफोन नचलाउँदा के गर्नुहुन्छ भनी बताउनुपर्नेछ ।
पोस्ट गर्नेमध्ये एकजनालाई भिटामिनवाटरले छान्नेछ र जनवरी २२ मा ती प्रतियोगीलाई पुरानो ह्यान्डसेट दिनेछ ।
एक वर्षसम्म स्मार्टफोन नचलाइकन त बस्न सकिन्न हौ भन्ने लागेमा तपाईंले ६ महिनासम्म यसरी बस्ने सुविधा पनि छ । त्यसका लागि तपाईंले दश हजार डलर जित्नुहुनेछ ।
पुरस्कार जित्नका लागि प्रतियोगीहरूले लाई डिटेक्टर टेस्ट चाहिँ दिनुपर्नेछ ।
एजेन्सी