
विराटनगर – नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन विराटनगरमा शुरू भएको छ । ७५ जिल्लाका जिल्ला अध्यक्ष तथा एसोसिएट, प्रतिष्ठान तथा प्रदेश समितिका अध्यक्ष सम्मेलनमा सहभागी छन् ।
१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको सम्मेलनको संयोजन पत्रकार महासंघ प्रदेश समितिले गरेको हो ।
सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले नेपाली समाज नकारात्मक भावनाबाट प्रेरित रहेकाले त्यस्ता प्रवृत्तिलाई कसरी बदल्ने भन्ने कुरालाई सम्मेलनले विशेष भूमिका र योगदान गर्ने विश्वास व्यक्त गरे । आफू पूर्ण प्रेसमैत्री बन्ने प्रयास गरेको बताएका मुख्यमन्त्री राईले प्रदेश सरकारको पहिलो नीति तथा कार्यक्रम र बजेट वक्तव्य जारी गर्दादेखि नै प्रेसमैत्री भएर काम गरेको स्पष्ट पारे ।
प्रदेशले प्रेसप्रति गरेको सकारात्मक व्यवहार अन्य प्रदेशमा पनि देखिएकाले अप्रत्यक्ष रुपमा दबाब ६ वटै प्रदेशलाई सिर्जना गरेको दाबी मुख्यमन्त्री राईको छ । कतिपय मिडिया व्यक्तिगत विषयलाई इस्यू बनाएर लागेकोप्रति भने उनले असन्तुष्टि जनाए ।
प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले संघीय सरकारको बचाउ गरेका छन् । प्रधानमन्त्री केपी ओली प्रेसमैत्री भएनन् भनेर भएका टिका टिप्पणीप्रति उनले बचाउ गर्दै प्रधानमन्त्री ओली १४ वर्ष जेल बसेर आएको व्यक्ति भएकाले प्रेसमा अंकुश लगाउँछन् भन्ने विषयमा डर नमान्न आग्रह गरे ।
प्रदेश सरकारले पत्रकारले आलोचना नगर्ने गरी काम गर्ने दाबी गर्दै उनले नराम्रा काम प्रमाणसहित आलोचना गर्न सुझाए । कतिपय स–साना कुरामा पनि पत्रकारले कोकोहोलो मच्चाएको उनले आरोप लगाए ।
पत्रकारका संगठनको जुहारी
पत्रकार संगठनका नेताहरूले भने पार्टीको पक्षमा वकालत गरेका छन् । प्रेस चौतारीको तर्फबाट गणेश बस्नेत र प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल दुवैले आफ्नो पक्षमा दाबी गरेका थिए । बस्नेतले पत्रकार महासंघ पदाधिकारीको आलोचना गरेका छन् ।
केही व्यक्तिका कारण सरकारलाई अप्ठ्यारोमा पार्ने खेल भएको भन्दै नेपाल पत्रकार महासंघ राजनीतिक आग्रह र पूर्वाग्रहमा प्रेरित भएको आरोप लगाए । महासंघलाइ विवादभन्दा माथि रहेर काम गर्न उनले आग्रह गरे । विवादमा पर्ने काम गरे संगठनले प्रतिवाद गर्नुपर्ने अवस्था आउने भन्दै उनले त्यस्तो अवस्था आउन नदिन आग्रह गरे । पत्रकारको हकहितमा काम गर्नुपर्नेमा अहिलेसम्म त्यस्तो नगरेको उनले बताए ।
युनियनका अध्यक्ष सिग्देलले सरकारले नियन्त्रणमुखी अभियान चाल्दै गएको आरोप लगाए । फौजदारी संहितामा टेकेर पत्रकारलाई जेल हाल्ने काम गरेको उनले बताए । आस्था र विचारको आधारमा पत्रकारलाई वाइपास गरेर निकट सञ्चार गृहबाट निकालिएको समेत उनले आरोप लगाए ।
पत्रकारलाई स्वतन्त्र रहन आग्रह
कार्यक्रममा अतिथिको रुपमा बोलाइएका व्यक्तिले पत्रकारलाई दलको संगठनभन्दा पनि स्वतन्त्र संस्थाको रुपमा महासंघमा मात्र रहेर राज्यलाई दबाब दिन आग्रह गरे । प्रदेशसभा सदस्य जयराम यादवले पत्रकार कहिल्यै पनि भगिनी संगठनको रुपमा आउन नहुने बताए । ‘संघ संगठनको रुपमा अगाडि बढ्ने हैन, आफ्नो कुरा महासंघमार्फत् मात्र लैजानुपर्छ,’ उनले भने, ‘विभिन्न संघ संगठनको नाममा हुने राजनीतिले पत्रकारितालाई विभाजित बताउँछ ।’ पत्रकारको आचारसंहिता र मर्यादामा रहेर पत्रकार अगाडि बढ्ने हो भने सत्यतथ्य मात्र मिडियामा आउने उनले बताए ।
कार्यक्रममा पूर्वअध्यक्ष शिव गाउँले, न्यूनतम पारिश्रमिक निर्धारण समितिका संयोजक गंगाधर पराजुली लगायतले पत्रकारिताका अप्ठ्यारा र अहिले भइरहेका प्रयोगबारे धारणा राखेका थिए । सम्मेलनमा ४ वटा कार्यपत्र प्रस्तुत हुनुको साथै त्यसमा छलफल गरी विराटनगर घोषणापत्र जारी हुनेछ ।
१० लाख ५० हजार खर्च हुने अनुमान गरिएको सम्मेलनमा ४ लाख प्रदेश सरकारबाट महासंघलाई सहयोग गरेको रकमबाट खर्च भएको, १ लाख विराटनगर महानगरपालिकाबाट प्राप्त भएको, ३ लाख विभिन्न संघ संस्थाको सहयोग, केन्द्रीय समितिबाट २ लाख ५० हजार रुपैयाँ समेत प्राप्त हुने प्रदेश अध्यक्ष बिक्रम लुइँटेलले बताए । खर्च भएर बचेको रकम झापाका जीवन–मरणको दोसाँधमा रहेका २ पत्रकारलाई सहयोग गर्ने महासंघले जनाएको छ ।