काठमाडौं, २३ फागुन–उत्तर कोरियाले चारवटा मिसाइलको परीक्षण गरेको छ । जसमध्ये तीनवटा जापानको समुन्द्रमा खसेको जनाइएको छ ।
दक्षिण कोरियाले उत्तरले आफ्नो पूर्व तटमा सोमबार प्रतिवन्धित मिसाईल परीक्षण गरेको जनाएको छ ।
जापानले तीन मिसाइल आफ्नो समुन्द्रमा खसेको जनाएको छ । उक्त मिसाइलले १ हजार किलोमिटर पर मार हान्न सक्ने जनाइएको छ ।
उत्तर कोरियाको यो कारबाही अमेरिका तथा दक्षिण कोरिया विरुद्धको संयुक्त सैन्य अभ्यास विरुद्धको प्रतिक्रियाको रुपमा हेरिएको छ ।
दक्षिण कोरियाई सेनाका एक अधिकारीले उत्तर कोरियाले स्थानीय समयअनुसार सोमबार विहान ७ बजेर ३६ मिनेटमा यो परीक्षण गरेको जनाएका छन् । अधिकारीका अनुसार कस्तो किसिमको परीक्षण हो भन्ने विषयमा अनुसन्धान जारी रहेको छ ।
दक्षिण कोरियाका अधिकारीका अनुसार यो मिसाइल परीक्षण सोमबार उत्तर कोरियाले चीनको सीमा लगत्तै टान्गचेंग री इलाका नजिकबाट गरेको थियो । टान्गचेन्गमा स्याटालाइट लञ्चिङ स्टेशन रहेको छ । पछिल्ला दिनमा उत्तरको यो गतिविधिले जापानलाई चिन्तित बनाएको छ ।
उत्तरले अन्तरिक्ष कार्यक्रमको तयारीका लागि यी परीक्षण गरेको जनाउँदै आएको भए पनि अमेरिका विरुद्ध हमलाका लागि वेलास्कि मिसाइल निर्माण गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।