
काठमाडौँ- सरकारी अस्पतालमा बिरामीका लागि सघन उपचार कक्ष (आईसीयू) पाउनै कठिन हुन्छ तर टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा भने आईसीयू कक्ष प्रायः खाली रहने गरेको छ ।
यहाँको चारवटा आईसीयू कक्षमध्ये दुईवटामा भेन्टिलेटर जडान गरिएको छ । चारवटै आईसीयू सहज रूपमा सञ्चालित छन् तर बिरामीको अभावमा धेरै जसो समय खाली रहने गरेको छ ।
देशकै केन्द्रीय अस्पतालका रूपमा चिनिने वीर अस्पताल, कान्ति बाल अस्पताल, पाटन अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललगायत सरकारी अस्पतालमा आईसीयू पाउन असाध्यै कठिन छ । कतिपयले त आईसीयूको शैय्या पाउन उच्च तहका नेता तथा मन्त्रीबाटै फोन गराउने गर्छन् तर भन्ने बित्तिकै कहाँ पाइन्छ र ? केही समय कुर्नैपर्ने हुन्छ तर टेकुस्थित सरुवा रोग अस्पतालको आईसीयूले भने बिरामीलाई कुरिरहेको छ ।
शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले आईसीयूमा राख्ने बिरामी आउँदा अन्य सरकारी अस्पतालले निजी अस्पताल सिफारिस गर्ने गरिएको गुनासो गरे । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।