
काठमाडौं — जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा हिमनदी तीव्रताका साथ पग्लिरहेकाले नेपाल, भारत र पाकिस्तानका विभिन्न भागमा पानीको आपूर्तिमा कमी हुने चेतावनी एक नयाँ अध्ययनले दिएको छ ।
अमेरिकाको ओहायो स्टेट विश्वविद्यालयका अध्येताहरूका अनुसार, जलवायु परिवर्तनका कारण एन्डीज पर्वतमाला र तिब्बती पठारका बासिन्दामा खराब प्रभाव पर्न सक्छ ।
ओहायो विश्वविद्यालयमा वातावरण विज्ञान अध्यापन गर्ने लोनी थम्पसनले भने, ‘सन् २१०० सम्म सबै कुरा राम्रो भए पनि आधा हिमनदी गायब हुनेछन् । साह्रै खराब स्थिति आयो भने यसको दुई तिहाइ भाग सकिनेछ ।’
जल आपूर्ति घटिरहेको र जनसंख्या बढ्दा पानीको माग चाहिँ बढिरहेको अनुसन्धानकर्मीहरूले बताएका छन् ।
सन् २०१६ मा चीन र भारतमा अनुसन्धानकर्मीहरूले तिब्बती पठारमा अनुसन्धान शुरू गरेका थिए । त्यहाँ हजारौं हिमनदी छन् जसबाट नेपाल, भारत, चीन, अफगानिस्तान, भुटान, पाकिस्तान र ताजिकिस्तानमा पानी आपूर्ति हुन्छ ।
अनुसन्धानकर्मीहरूले तिब्बती पठार र एन्डीज पर्वतबाट हिउँको नमूना लिएर तापक्रम, वायुको गुणस्तर र अन्य घटनाको विश्लेषण गरे ।
एजेन्सी