काठमाडौं–सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ जाँदैगरेको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर– ३ राम्रीमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २२ पुगेको छ । दुर्घटनामा अरु १४ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार गम्भीर घाइते ११ जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । अन्यको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बा४ख ९७६६ नंको बस शुक्रबार साँझ दुर्घटनामा परेको थियो ।
घोराहीस्थित कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी चढेको बस दुर्घटनामा परेको हो । बस झण्डै सात सय मिटर तल भीरमा खसेको थियो । शिक्षक र विद्यार्थी सल्यानको कपुरकोटस्थित मुलपानीमा रहेको वनस्पति उद्यानको अवलोकन भ्रमण गरी तुलसीपुर फर्कँदै थिए ।
बसमा ३४ विद्यार्थी र दुई शिक्षक सवार थिए ।
यसैबीच नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
शुक्रबार नै एक वक्तव्य जारी गर्दै उनले शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षकको मृत्यु भएको घटनाप्रति आफू र सिङ्गो पार्टी मर्माहत भएको जनाएका छन्।
अध्यक्ष दाहालले दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
उनले सवारी दुर्घटनाबाट भइरहेको जनधनका क्षति न्यूनीकरण गर्न सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराएका छनु । यस्तै पुर्वप्रम तथा काँग्रेस सभापति शेरबादुर देउवाले पनि घटनाप्रति दुःख व्यक्र गरेका छन् ।