
डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति निर्वाचित भएपछि अल्पसंख्यकहरूमाथि आक्रमणको क्रम बढेर गएको छ । मुसलमानहरूविरुद्ध घृणास्पद सन्देश दिने अनि आप्रवासीहरूलाई दुर्व्यवहार गर्ने सिलसिला अमेरिकामा बढेको छ । थुप्रै नेपालीहरू पनि आर्थिक उन्नतिको आशामा अमेरिका पुगेका छन् । हुन त अहिलेसम्म कुनै पनि नेपालीमाथि घृणाजन्य अपराध (हेट क्राइम)बाट प्रेरित आक्रमण भएको छैन तर छिमेकी मुलुक भारतबाट अमेरिकामा गएर बसेका भारतीयहरूमाथि यस्ता आक्रमण भएका छन् ।
यसैक्रममा कान्सास राज्यमा भारतीय मूलका इन्जिनियर श्रीनिवास कुचिभोतलालाई जलसेनाका पूर्व अधिकारी एडम प्युरिङटनले गोली हानेर हत्या गरे । त्यस्तै साउथ क्यारोलाइनामा हर्निश पटेललाई हत्या गरेर घरअगाडि फ्याँकियो । अनि फागुन २० गते वाशिङटन राज्यमा दीप सिंहलाई एक गोरा मानिसले हातमा गोली हान्दै मेरो देशबाट निस्केर जा भने । श्रीनिवासलाई पनि देश छोडेर जान भन्दै गोली हानिएको थियो र त्यसक्रममा उनका साथी गोली लागेर घाइते भए । अनि न्युयोर्कमा एक भारतीय मूलकी युवतीलाई एक काला जातिका मानिसले पनि देश छोडेर जान धम्की दिए ।
आप्रवासीहरूप्रति कठोर नीति अपनाइने प्रतिबद्धताका साथ ट्रम्पले चुनाव जितेका कारण उनको शासनमा आप्रवासीमाथि आक्रमण बढेको कुरामा शंका छैन । आप्रवासीहरूका कारण आफ्नो रोजीरोटीमा समस्या परेको ठान्ने अमेरिकाको एउटा ठूलो तप्काले ट्रम्पलाई भारी मतले विजयी बनाएकाले उनीहरूको इच्छा पूरा गर्नु ट्रम्पको बाध्यता हो । त्यसैले उनले सातवटा मुसलमानबहुल देशका नागरिकलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाए र अवैध आप्रवासीहरूलाई देशनिकाला गर्ने अभियानलाई तीव्रता दिए ।
त्यसमाथि आप्रवासीहरूमाथि सर्वसाधारण अमेरिकीले गरेको आक्रमणप्रति ट्रम्पले कडा नीति अपनाएको देखिन्न । श्रीनिवासको हत्यापछि अमेरिकी प्रशासनले तत्कालै प्रतिक्रिया दिएन । केही दिनपछि मात्र ट्रम्पले कंग्रेसलाई सम्बोधन गर्ने क्रममा जातिवादी आक्रमणहरू असह्य हुने बताए ।
तर ट्रम्पको यो देखावटी प्रतिक्रिया मात्र प्रतीत हुन्छ । ट्रम्पका प्रमुख रणनीतिकार स्टिभ ब्यानन सबैखाले आप्रवासीहरूलाई अमेरिकाबाट लखेट्नुपर्ने धारणा राख्छन् र ट्रम्प उनैको कुरा सुन्छन् । उग्रदक्षिणपन्थीहरूको समाचार संस्था ब्राइटबार्टको रेडियो कार्यक्रम चलाउने ब्याननले सन् २०१५ को नोभेम्बरमा ट्रम्पसँग अन्तर्वार्ता लिएका थिए । त्यतिखेर ट्रम्पले विदेशमा जन्मेका अनि अमेरिकामा राम्रो शिक्षादीक्षा हासिल गरेका व्यक्तिहरू अमेरिकामा बसे तिनले रोजगारी जन्माउँछन् भन्ने धारणा राखेका थिए । तर ब्याननले यसमा असहमति जनाउँदै सिलिकन भ्याली (अमेरिकाको प्रविधि राजधानी)मा दक्षिण एसियालीहरूको लगभग कब्जा रहेको र पछि गएर यिनै एसियालीहरूले पूरै अमेरिकामा कब्जा जमाउने धारणा राखेका थिए ।
हुन त रिपब्लिकनहरू भन्नलाई अवैध आप्रवासीहरूप्रति मात्र आफूहरू कठोर रहेको बताउँछन् । तर रिपब्लिकनहरूभन्दा पनि बढी दक्षिणपन्थी धारणा राख्ने ब्याननको छाप ट्रम्पमा परेको छ । त्यसैले भाषणका क्रममा भारतलाई अमेरिकाको राम्रो मित्र मानेपनि ट्रम्प भारतीय आप्रवासनलाई चाहिँ प्रोत्साहन गर्ने पक्षमा देखिँदैनन् । यो ब्याननको मात्र कुरा होइन । ह्वाइट हाउस नीतिनिर्माता स्टिफन मिलर, महान्यायाधिवक्ता जेफ सेसन्स लगायतका उच्च अधिकारी पनि अमेरिकामै जन्मेका (गोरा) मानिसले नै उद्योगधन्धा तथा कम्पनीहरू चलाउनुपर्ने अनि आप्रवासीहरूले उनीहरूको अन्तर्गत रहेर काम गर्नुपर्ने धारणा राख्छन् ।
करीब ४० लाख भारतीय मूलका मानिस अमेरिकामा बस्ने आँकडाहरू भेटिन्छन् । अमेरिकामा रहेका अल्पसंख्यक समुदायमध्ये भारतीयहरू सफलता र शिक्षाको मामिलामा सबैभन्दा अघि छन् । प्रविधिको क्षेत्रमा उनीहरूको राम्रो उपस्थिति छ । मध्यमवर्गका इन्जिनियरहरू सिलिकन भ्यालीमा माथिल्लो तहसम्म पुग्न सफल भएका छन् । उनीहरू व्यापारको क्षेत्रमा पनि अगाडि नै छन् । अनि उनीहरूमा कानून तोड्ने मानिस पनि नगण्य छन् । शिक्षित, कानून मान्ने र वैध रूपमा रोजगारीमा लागेका भारतीयहरूको समुदायमाथि आक्रमण गरेर त्यहाँका गोरा (र काला) जातिका मानिसले एसियाली अल्पसंख्यकलाई आफ्नो देशमा ठाउँ छैन भनी सन्देश दिन खोजेका हुन् । गोराहरूमा यस्तो जातिवादी भावना त छँदैछ, कालाजातिमा पनि एसियाली लगायतका अल्पसंख्यकले आफ्नो रोजगारी खोसिदिएको भावना प्रबल छ र उनीहरू पनि एसियालीलाई लखेट्न चाहन्छन् ।
बढीजसो न्युयोर्क, क्यालिफोर्निया र न्युजर्सीमा भारतीयहरू बसेका छन् । अमेरिकाका यी तटीय क्षेत्रमा उदारवादी डेमोक्रेटहरूको वर्चस्व छ । तर अमेरिकाको मध्यभागमा रहेका राज्यहरूमा गोरा जातिवादीहरूको दबदबा छ । सन् २००८ को आर्थिक मन्दी अनि भौगोलिकीकरणले गर्दा रोजगारीहरू अन्य देशमा गएको लगायतका कारणले रोजगारी र आयस्रोत गुमाउन पुगेका यी क्षेत्रका मानिसमा आप्रवासीप्रति चरम घृणा छ । यिनीहरूको यही भावनालाई ट्रम्पजस्ता लोकरञ्जनवादीहरूले भरपूर उपयोग गरिरहेका छन् । त्यसैले ती क्षेत्रमा बस्ने भारतीय लगायतका आप्रवासीहरूलाई आगामी दिनहरू मुश्किल नै हुने देखिन्छ ।
हुन त विदेशीविरुद्धको आक्रमणका फाट्टफुट्ट घटना पूर्ववर्ती राष्ट्रपति ओबामाको शासनकालमा पनि हुने गर्थ्यो । तर आफूले भनेमुताबिकको राष्ट्रपति पाएका गोराहरूमा सुषुप्त रूपमा रहेको जातीय अहंकार अहिले आएर चाहिँ प्रस्फुटित हुन थालेको देखिन्छ । त्यसमाथि जातीय आक्रमण देख्दादेख्दै राष्ट्रपतिले नै प्रस्ट रूपमा हेट क्राइममाथि लगाम नकसिदिँदा भारतीय आप्रवासीहरूलाई अप्ठ्यारो पर्न थालेको छ । अर्को चुनाव जित्न पनि ट्रम्पले आफ्ना बफादार जातिवादी मतदाताविरुद्धका क्रियाकलाप गर्न सक्ने अवस्था छैन । यस्तो स्थिति आएपछि अमेरिकामा बस्ने युवकहरूलाई छोरी दिन हत्ते गर्ने भारतीयहरू अब त्यसमाथि सोचविचार गर्न थालेका छन् ।
तर विडम्बना नै भन्नुपर्छ, यो सबका बाबजुद भारतीयहरूमा आप्रवासन मोह जीवितै छ । अमेरिकाले हेला गरेपनि
क्यानाडाले हामीलाई स्वागत गर्ला भन्ने आश गरेर बसेका छन् उनीहरू । आफ्नो मूलदेशलाई पश्चिमको विकसित देशको स्तरमा पु–याउन योगदान गर्नेतिर सोच्नु भन्दा पनि नयाँ नयाँ देश चहार्नमा उनीहरूको रुचि देखिन्छ ।
एजेन्सीको सहयोगमा