१६ असार २०८३, मंगलबार

ज्ञानेन्द्रसामु गुञ्जियो ‘टोलटोलमा हल्ला छ, राजा ल्याउने सल्लाह छ’ ! मन्दिरमा पूजाआजा

पुस ७, २०७५
ज्ञानेन्द्रसामु गुञ्जियो ‘टोलटोलमा हल्ला छ, राजा ल्याउने सल्लाह छ’ ! मन्दिरमा पूजाआजा

पोखरा – पूर्वराजा ज्ञानेन्द्र शाहले पोखरेली जनताको माया, ममता र सद्भावले आफू पटक–पटक पोखरा आएको बताएका छन् ।

पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा शनिवार दर्शन गर्न पुगेका पूर्वराजा ज्ञानेन्द्रले पत्रकारको जिज्ञासामा पोखरामा धेरै मठमन्दिर पनि रहेको र सुन्दरताका कारण आफू आएको बताए ।

उनले पोखरेलीको स्वागत र सत्कार देख्दा आफूलाई गर्व महसुस भएको समेत उनले बताए । पूर्वराजा ज्ञानेन्द्रलाई स्वागतका लागि पोखराको नालामुखदेखि विन्ध्यवासिनी मन्दिरसम्मको करीब १ किलोमिटर क्षेत्रमा समर्थक लामवद्ध थिए ।

शनिवार मध्याह्न पूर्वराजा ज्ञानेन्द्रले पूर्वरानी कोमल शाहसँगै मन्दिर दर्शन गरेका हुन् । उनले मन्दिरमा करीब २० मिनेटसम्म पूजाआजा गरेका थिए । पूर्वराजा ज्ञानेन्द्रको स्वागतको लागि पञ्चेबाजा र झाँकीसमेत प्रदर्शन गरिएको थियो ।

पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र २०६९ असोजमा पोखरा भ्रमणमा रहँदा विन्ध्यवासिनी मन्दिर दर्शन गरेका थिए । गत पुस २ गते पोखरामा रहेका उनले विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिलाई समसामयिक परिस्थितिबारे छलफल गर्दैआएको बताइएको छ ।

उनी पोखरा आउँदा राजा रहेकै बेलाजस्तो स्वागत सत्कार गर्ने गरेका छन् । समर्थकले ‘गणतन्त्र मुर्दावाद, राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, टोलटोलमा हल्ला छ, राजा ल्याउने सल्लाह छ लगायत नाराबाजी गरेका थिए । उनको स्वागतका लागि राप्रपा, शिवसेना, पूर्वपञ्च सक्रिय छन् ।

पूर्वराजालाई हेर्नका लागि सर्वसाधारणको ठूलो भीडसमेत लागेको थियो । नालामुखदेखि मन्दिरसम्मको सडकमा यातायात आवागमन नै बन्द गरेर उनको स्वागत गरिएको थियो । 

नितान्त व्यक्तिगत भ्रमणमा पोखरा आएको बताउने उनले २ सातासम्म पोखरा रहँदा विभिन्न मठ मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको उनको स्वागतका लागि गठित प्रचारप्रसार संयोजक मोहन केसीले जानकारी दिए । 

शुक्रवार मात्र पोखराको चुली काहुँडाँडामा काहुँ मन्दिरको दर्शनका लागि जाने भनिएपनि अन्तिम समयमा कार्यक्रम स्थगित गरिएको केसीले बताए । पूर्वराजा ज्ञानेन्द्र र कोमल शाह निर्मलपोखरीस्थित माउन्ट ग्लोरी रिसोर्टमा बसेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्