१९ असार २०८३, शुक्रबार

द्रूतमार्ग निर्माणमा सेनाको हात : 'प्रगति सन्तोषजनक' देखेर जाग्यो आश

द्रूतमार्ग निर्माणमा सेनाको हात : 'प्रगति सन्तोषजनक' देखेर जाग्यो आश

काठमाडौं – राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेश द्रुतमार्गको काम नेपाली सेनाले जिम्मा लिई काम गरिरहेकामा हालसम्मका कार्य सन्तोषजनक रुपमा अघि बढेको पाइएको छ । 

शुक्रवार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सदस्य सांसदको एक टोलीले द्रुतमार्गको जिरो किमी निजगढदेखि सेनाका विभिन्न क्याम्पअन्तर्गत भइरहेका कामको निरीक्षण गर्दा हालसम्मको प्रगति सन्तोषजनक पाइएको हो । 

समितिका सभापति कल्याणीकुमारी खड्काको नेतृत्वमा गएको टोलीमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाललगायत सांसद अनिलकुमार झा, इन्दुकुमारी शर्मा, गणेशकुमार पहाडी, दामोदर भण्डारी, देवप्रसाद तिमल्सेना सहभागी थिए ।

टोलीमा सेनाका आयोजना प्रमुख योगेन्द्रबहादुर खाँड, उपरथी प्रभुराम शर्मा, समितिका सचिव वंशीराज पौडेल, विभिन्न मन्त्रालयका प्रतिनिधि, पत्रकारलगायत २५ जना सामेल थिए । 

काठमाडौंबाट निजगढसम्म हेलिकप्टरमा गएको टोलीले निजगढको जिरो किलोमिटरदेखि मोहोरीसम्म गाडीमा स्थलगत भ्रमण गरेको थियो । त्यहाँ सेनाका मेजर राजेशकुमार देवले आयोजनाको कामबारे जानकारी दिएका थिए । क्याम्पअन्तर्गत १० किमी क्षेत्रमा कटिङ तथा फिलिङको काम भइरहेको उनले जानकारी दिए । उनले कटिङ गरेपछि पहिरो जाने समस्याले केही अवरोध सिर्जना भइरहेको बताए । 

सो अवसरमा स्थानीयवासी रविराज दंगालले द्रुतमार्ग बन्दा स्थानीय जनता खुशी रहेको तर ढिलासुस्ती होला कि भन्ने चासो रहेको बताए । उनले स्थानीयलाई रोजगारी र स्थानीय साधनस्रोत प्रयोग होस् भन्ने धारणा राखे । नेपाली कांग्रेसका महासमिति सदस्य मीना लामाले भनिन्, ‘सेनाले गरेको काम छिटो भएको छ, सेनाले विश्वास आर्जन गरेको छ । सेनालाई नै काम दिएमा द्रुतमार्गको काम छिटो हुनेछ ।’

सेनाको अर्को क्याम्प मकवानपुरको बकैया गाउँपालिका, राजदमारमा सेनाको निर्माण कार्यदल प्रमुख महासेनानी पुरुषोत्तम कार्कीले सो क्याम्पअन्तर्गत ८ किमीमा पुलबाहेक फिलिङको काम तहतहमा भइरहेको जानकारी दिए । कल्भर्टको काम पुस १५ सम्ममा सकिने र पुल भने अर्को वर्षदेखि शुरू हुने बताए । उनले कान्ति राजपथलाई बचाउन डब्लु डाँडामा सुरुङ प्रस्ताव गरिएको पनि बताए ।

राजदमारका स्थानीय रामकुमार थिङ र राजन दंगालले सो स्थानमा धरान–चतरा हुँदै मदन भण्डारी लोकमार्ग पनि जोडिने भएको र सरकारले इन्टरचेन्जका लागि जग्गा अधिग्रहण गरिसकेकाले इन्टरचेन्ज सोही स्थानमा बन्नुपर्ने बताए ।

रामेछापमा जन्मी ३८ वर्षदेखि सो स्थानमा बस्दै आएका ८० वर्षीय दण्डपाणी दाहालले यो बाटो आफ्नै पालामा बन्ने हो कि होइन भनी आशंका व्यक्त गरेका थिए । जवाफमा पूर्वप्रधानमन्त्री खनालले भने, ‘अब यो बाटो चाँडै बन्छ, केही वर्षमै तपाईं गाडी चढेर काठमाडौं पुग्न सक्नुहुन्छ ।’

सेनाको अर्को क्याम्प मकवानपुरको बुदुनेमा त्यहाँका प्रमुख प्राविधिक सेनानी अरविन्द श्रेष्ठले २०७४ साउन १९ देखि सो क्याम्प स्थापना भई डिजाइनअनुरुप काम भइरहेको र त्यस क्षेत्रमा ११ वटा पुल बन्ने जानकारी दिए । उनले कटिङ र फिलिङमा जनशक्ति खटाइएको र यो आर्थिक वर्षभित्र सकिने बताउँदै सो काम ७९ दशमलव १ प्रतिशत पूरा भइसकेको बताए । उनले स्थानीयका माग र गुनासा सम्बन्धमा स्थानीयस्तरमै छलफलबाट समस्या सुल्झाइने गरेको र कुनै अवरोध नभएको बताए ।

स्थानीय हेटौडा उपमहानगरपालिका, एक्लेखेतका बाबुराम न्यौपानेले इन्टरचेन्ज (लिंक रोड जोडिने ठाउँ) अन्यत्र राख्ने चर्चा भइरहेको बताउँदै हेटौडाको सडक स्थानीय जनतालाई सुविधा हुने गरी गाउँको बीचबाटै ल्याई यहाँ इन्टरचेन्ज राखिनुपर्ने बताए । 

सेनाको अर्को क्याम्प रहेको मकवानपुरको लेनडाँडामा क्याम्प प्रमुख इञ्जिनीयर विनोद श्रेष्ठले सिवालिकको धेद्रेडाँडादेखि महादेवटारसम्म सबैभन्दा लामो ३ दशमलब ३ किमीसहित ३ वटा सुरुङ मार्ग प्रस्ताव गरिएको जानकारी दिए । उनले कान्ति राजपथ जोगाउन डब्लु डाँडामुनिबाट सुरुङ बनाइने बताए ।

शिवालिक र महाभारतको मिलन हुने मेन बाउन्डरी थ्रस्ट पर्ने भएकाले सो कुरालाई ध्यानमा राखी सुरुङको डिजाइन गरिएको उनले बताए । सुरुङ मार्गले केही खर्च बढे पनि ५ मिनेट यात्रा समय घट्ने पनि उनले बताए ।

निर्माण कार्यदल, काठमाडौंको मख्खुबेसीमा प्राविधिक सेनानी अजित श्रेष्ठले निर्माणाधीन ९ किमीमा ५ ठाउँमा अण्डरपास पर्ने, ११ ठाउँमा पुल बन्ने बताए । उनले कटिङको काम ७४ प्रतिशत सम्पन्न भइसकेको र २ महिनामा कटिङ सम्पन्न हुने बताए । यस खण्डमा एक किमी मात्र ललितपुर र बाँकी सबै काठमाडौंमा पर्ने उनले बताए । मख्खुबेसी द्रुतमार्गमा पर्ने काठमाडौं उपत्यकाको सबैभन्दा दक्षिणी बिन्दु हो । 

कूल १० वटा क्याम्पमध्ये काठमाडौं तर्फबाट दोस्रो सो क्याम्पले २०७४ असारदेखि काम शुरू गरेको श्रेष्ठले जानकारी दिए । यस क्षेत्रमा वाग्मतीमा ९० मिटर र १ सय ५० मिटरका लामा पुल बन्ने पनि उनले बताए । सो क्षेत्रमा २ सय ७२ रुख कटान गरी जिल्ला वन कार्यालयलाई बुझाइएको पनि उनले जानकारी दिए । 

आयोजना प्रमुख उपरथी खाँडले सेनाले सो सडक बनाउँदा नेपालकै श्रम सीप उपयोग गरेर कम खर्चमै निर्माण गर्न लागेको बताए । उनले द्रुतमार्गको कूल खर्च भने कोरियाली कम्पनीबाट विस्तृत परियोजना प्रतिवेदन आएपछि मात्र यकिन हुने र यदि रेखांकन परिवर्तन गर्नुपर्ने भएमा मन्त्रिपरिषद्ले मात्र गर्नसक्ने बताए । उनले द्रुतमार्गमा जम्मा ६ किमी सुरुङ मार्ग बन्ने पनि जानकारी दिए ।

उनले कटिङको काम ७०–८० प्रतिशत पूरा भइसकेको तथा अब ३–४ महिनामा फिलिङको काम सकिने बताए । उनले आयोजनामा सेनाका २१ वटा स्काभेटर प्रयोगमा ल्याइएको र सबै गरी १ सय वटाभन्दा बढी स्काभेटरले काम गरिरहेको बताए ।

नेपाली सेनाका योजना तथा डिजाइन महाशाखाका महासेनानी शरदलाल श्रेष्ठले हाल सेनाले द्रुतमार्गको एशियाली विकास बैंकको प्रतिवेदन, सरकारले अधिग्रहण गरेको जग्गा र एशियाली मापदण्डलाई आधार बनाएर कार्य गरिरहेको र विस्तृत परियोजना प्रतिवेदन आएपछि दु्रतमार्गको कामले गति लिने बताए ।

निरीक्षण भ्रमणको अन्त्यमा मख्खुबेसीमा समिति सभापति खड्काले स्थलगत भ्रमणबाट द्रुतमार्ग निर्माणबारे राम्रो जानकारी भएको र सेनाले उत्साहका साथ काम गरेको पाइएको र आफू कामबाट प्रभावित भएको बताए । सेनालाई कामका लागि धन्यवाद दिँदै यसै क्रमले काम भएमा सेनाले गत वर्ष बैशाखमा जिम्मेवारी पाएकामा ४ वर्षमा द्रुतमार्गको काम पूरा हुनसक्ने उनले अपेक्षा गरे । – तीर्थ भट्टराई/रासस
 

salt training

कमेन्ट गर्नुहोस्