
सप्तरी, २३ फागुन — मेची–महाकाली अभियानसहित नेकपा एमालेका नेताहरू सुनसरीको कार्यक्रम सम्पन्न गरेर कोशी ब्यारेजबाट सप्तरीको भारदह प्रवेश गरेका छन् ।
एमाले नेताहरू प्रदेश नम्बर दुईमा प्रवेश गरेसँगै मधेशी मोर्चाका कार्यकर्ताले सप्तरीका विभिन्न ठाउमा प्रदर्शन गरेका छन् । एमालेको अभियान राजविराजतर्फ प्रवेश गर्दैगर्दा लट्ठीसहितका मोर्चाका कार्यकर्ताले चर्को नाराबाजी गरेका छन् ।
दिउँसो २ बजे गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा हुने एमालेको सभा बिथोल्न मोर्चाका कार्यकर्ता बिहानैदेखि लट्ठी र भाटासहित जुलुस प्रदर्शन गरिरहेका छन् । अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले राजविराजमा बाक्लो सुरक्षा तैनाथी गरेको छ । मोर्चाका कार्यकर्ता सुरक्षा घेरा तोडेर एमालेको कार्यक्रम स्थलतर्फ लागेका छन् ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी उदयप्रसाद तिमल्सिनाले दुवै पक्षलाई शान्तिपूर्ण रूपमा कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको बताए । ‘मोर्चाका कार्यकर्ताका बिहानैदेखि सडकमा उत्रेका छन्, दुवै पक्षलाई संयमित हुन आग्रह गरेका छौं,’ उनले लोकान्तरसँग भने ‘झडपको अवस्था आए बल प्रयोग गर्छांै ।’
मोर्चाका कार्यकर्ताको विरोधका बावजुद सभाको तयारी पूरा भएको एमाले स्थायी समिति सदस्य सत्यनारायण मण्डलले जानकारी दिए । प्रमुख जिल्ला अधिकारीको मध्यस्थतामा शुक्रवार भएको बैठकमा मोर्चाले एमालेको कार्यक्रम नबिथोल्ने प्रतिबद्धता जनाएको थियो ।
सभालाई एमाले अध्यक्ष केपी ओलीलगायत दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । मोर्चाका केन्द्रीय स्तरका नेताहरूले एमालेको कार्यक्रम बिथोल्न निर्देशन नदिइएको दाबी गरेका छन् ।