सप्तरी २३ फागुन – सप्तरीको राजबिराजमा सोमवार नेकपा एमालेको सभा सकिपछि भएको झडपमा ‘प्रहरीको गोली’ लागि दुइजनाको मृत्यु भएको पुष्टि भएकोछ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी उदयराज तिमल्सिनाले दुइजनाको मृत्यु भएको आफूलाई सूचना आएको लोकान्तरलाई बताए । यद्यपी त्यसको आफूले स्वतन्त्र र आधिकारी पुष्टि गर्ने क्रममै रहेको बताए ।
यता, नेपाल प्रहरीका प्रवक्ता सर्वोन्द खनालले पनि दुइजनाको मृत्यु भएको खबर आएको पुष्टि गरे । मृत्यु हुनेमा सप्तरीको मलेठ– २ का सञ्जन मेहता र मलेठ –४ का पिताम्बरलाल यादव छन् ।
प्रजिअ तिमल्सिनाले मृत्यु भएकाहरु कुन अस्पतालमा छन्, त्यसको खोजी कार्य चाहिँ अझै जारी रहेको बताएका छन् ।
गोली लागेर घाइते भएका १५ जनाको सगरमाथा अञ्चल अस्पताल र धरानमा उपचार भइरहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी उदयप्रसाद तिमल्सिनाले लोकान्तरलाई जानकारी दिए । घाइते भएका केहीको अवस्था गम्भिर रहेको वताइएको छ ।
एमालेको सभा सकिए लगत्तै मोर्चाका कार्यकर्ता अक्रमणमा उत्रेपछि प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको थियो ।