काठमाडौँ, २३ फागुन - एमाले मेची महाकाली अभियानको क्रममा सप्तरीको राजविराजमा भएको झडपमा तीन जनाको मृत्यु भएसँगै नेपाली कांग्रेस र राप्रपाले दुःख व्यक्त गरेको छ ।

दुबै पार्टीले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै निर्वाचनको मुखको यस्ताखाले घटनाले कसैलाई फाइदा नपुग्ने भन्दै संयमता अपनाउन आग्रह गरिएको छ ।
कांग्रेस कोषाध्यक्ष चित्रलेखा यादवले जारी गरेको विज्ञप्तीमा भनिएको छ– संविधान संशोधन र निर्वाचनको प्रकृयामा मुलुक अघि वढी राखेको वर्तमान अवस्थामा यस घटनाले जटिलता पैदा गरेको छ ।यस घटनावाट उत्तेजित नहुन र शान्ति कायम गराई राख्न मधेशी जनता र सुरक्षाकर्मीलाई आग्रह गर्दछु ।
यस्तै उनले मृत्यु भएका व्यक्तिहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाईतेहरुको उपचारमा सहयोग गर्न सबैसँग अनुरोध गरेकी छन् ।
यस्तै राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ–देश निर्वाचन तर्फ उन्मुख भइरहेको बेला राजनीतिक शक्तिहरुका बीच आपसी एकता र सदभाव कायम हुनुपर्नेमा मुठभेड र परिस्थितिलाइ उत्तेजित बनाउने कार्यले कसैलाई फाइदा पुग्दैन । त्यसर्थ संयम अपनाउन राप्रपा सम्बद्ध पक्षलाई हार्दिक आग्रह गर्दछ ।