
काठमाडौं - नेपाली युवा स्पीनर सन्दीप लामिछाने अस्ट्रेलियाको चर्चित टी-ट्वान्टी क्रिकेट प्रतियोगिता बिग बाश लिगमा बलरहरूको सूचीमा सर्वाधिक विकेट लिँदै पहिलो नम्बरमा छन् ।
३ खेलबाट ७ विकेट लिएका सन्दीपले अफगानी स्टार स्पीनर रसिद खान लगायत बलरहरूलाई समेत पछि पारेका हुन् । चौंथो स्थानमा रहेका रसिदले ५ विकेट लिएका छन् ।
पहिलो खेलमा २ तथा दोस्रो खेलमा ३ विकेट लिएका सन्दीपले सिड्नी सिक्सर्ससँग बिहीवार भएको तेस्रो खेलमा २ विकेट हात पारेका हुन् ।
मेलवर्न स्टार्सका तर्फबाट खेलिरहेका सन्दीपले विपक्षी टीमका कप्तान मोइसिस हेनरिक्स र इंग्लिस ब्याट्सम्यान टोम कुरानलाई एल्बीडब्लू धरापमा पारेका हुन् ।
४ ओभरको आफ्नो स्पेल पूरा गर्ने क्रममा सन्दीपले २ विकेट लिँदै १८ रन खर्चिए ।
सन्दीपले उत्कृष्ट प्रदर्शन जारी राखे पनि उनको टोली भने आजसम्म जीतविहीन छ ।