०८ साउन २०८३, शुक्रबार

‘पार्टी विरोधी’ स्वास्थ्यकर्मीलाई सरुवा गर्न सिफारिस गर्ने सांसद भन्छन्– पार्टीको काम गरेको हो

‘पार्टी विरोधी’ स्वास्थ्यकर्मीलाई सरुवा गर्न सिफारिस गर्ने सांसद भन्छन्– पार्टीको काम गरेको हो

काठमाडौं– विभिन्न स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी पार्टीको विरोधी रहेको भन्दै दुर्गममा सरुवा गर्न प्रदेश सांसदले स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई पठाएको पत्रको विषय अहिले चर्चामा छ ।

उक्त पत्रमा स्वास्थ्यमन्त्री यादवलाई सम्वोधन गर्दै संघीय समाजवादी फोरमबाट प्रदेश नम्बर ५ का सांसद सहसराम यादवले स्वास्थ्य सेवाअन्तर्गत विभिन्न तहमा कार्यरत २५ कर्मचारीलाई दुर्गममा सरुवा गर्नुपर्ने भन्दै सूची नै पठाएका छन् । 

सांसद यादवले पठाएको सूचीको कैफियतमा जिल्ला अस्पताल कपिलवस्तुमा कार्यरत डा. किशोर बंजाडे पार्टीको घोर विरोधी रहेको भन्दै उनलाई गुल्मीको दुर्गममा सरुवा गर्न र कपिलवस्तुकै धनकौ स्वास्थ्यचौकीमा कार्यरत सिनियर अहेब  सिद्धार्थकाजी बज्राचार्यलाई अति दुर्गममा सरुवा गर्न भनिएको छ । उक्त पत्रमा सांसद यादवको हस्ताक्षर गरेका छन् । 

पार्टीको घोर विरोधी रहेको भन्दै प्रदेश सांसद सहसराम यादवले उनीहरुलाई दुर्गममा सरुवा गर्न मन्त्री यादवलाई सिफारिस  गरेका छन् । सिफारिस पत्रमा  केही स्वास्थ्यकर्मीको भने कैफियतमा विषेश प्राथमिकता लेखेर सरुवाको लागि सिफारिस गरिएको छ ।

मन्त्री यादवलाई पठाएको पत्रको विषयमा प्रदेश सांसद सहसराम यादवले सरुवा पत्रमा आफैंले हस्ताक्षर गरेको स्वीकार गरेका छन् । उनले आफ्नो पार्टीको साथीहरुले सहयोग गर्न आग्रह गरेपछि हस्ताक्षर गरेर सहयोग गरेको लोकान्तरलाई बताए ।

‘म राजनीति गर्ने व्यक्ति सांसदज्यू सरुवाका लागि पहल गरिदिन पर्‍यो भनेपछि मैलै मन्त्रीलाई पत्र काटेको हुँ, साथीहरुले सरुवा गरिदिनु पर्‍यो भन्छन्, साथीहरुले भनेको कुरामा हामीले सहयोग गर्नुपर्छ,’ सांसद यादवले लोकान्तरसँग भने, ‘कर्मचारी समायोजन प्रक्रिया अगाडि बढेको बेलामा त्यति आग्रह गरेपछि मैले पत्र काटेर मन्त्रीलाई पठाएको हुँ ।’ 

सांसद यादवले आफ्नो पार्टीको व्यक्तिले भनेको सरुवामा सहयोग गर्नु सामान्य विषय भएको  प्रक्रिया दिए ।

‘मैले पत्र काट्दैमा सरुवा हुने त होइन । केन्द्रबाटै हुने हो ।सानो कुरालाई ठूलो बनाउन खोजिँदै छ । यो त्यति ठूलो कुरा होइन,’ सांसद यादवले भने । 
 
उक्त विषयमा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले भने आफूलाई प्रदेश सांसदको पत्र नै नआएको बताए । मन्त्री यादवले सञ्चार माध्ययममा आएको समाचारमा कुनै सत्यता नभएको र उक्त कुरा हावादारी भएको भन्दै कुनै प्रक्रिया नदिने बताए ।

‘मलाई यो विषय थाहा छैन, मिडियामा आयो भनेर हुन्छ, अहिलेको मिडियामा विश्वसनीयता नै छैन,’ मन्त्री यादवले लोकान्तरसँग भने, ‘हावादारी कुरामा के प्रतिक्रिया ? पत्र मकहाँ आउन पर्‍यो नि ! मलाई आएको छैन ।’

salt training

कमेन्ट गर्नुहोस्