१९ असार २०८३, शुक्रबार

कंशाकारले भने–वाईडबडी खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार भएको छैन, नेताहरुप्रति यस्तो गुनासो

कंशाकारले भने–वाईडबडी खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार भएको छैन, नेताहरुप्रति यस्तो गुनासो

काठमाडौं–नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले वाईडबडी जहाज खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार नभएको दाबी गरेका छन् । खरिद प्रक्रिया प्राविधिक विषय भएकोले शीर्ष नेताहरुले नबुझीकन किन प्रतिक्रिया दिएको भन्दै उनले प्रश्न पनि गरे । 

बिहीबार राजधानीमा आयोजित पत्रकारसम्मेलमा बोल्दै महाप्रबन्धक कंशाकारले भने,‘यो त प्राविधिक विषय हो । शेरबहादुरजी र बाबुरामजीले किन कुरा उठाउनुभयो ? मलाई आश्चर्य लागेको छ । म यो विषयमा भेटेरै देउवाजीसँग कुरा गर्छु । उहाँले नबुझीकन कसरी बोल्नुभयो ?’

उनले थपे,‘त्यो त उहाँहरुको कुरा हो । उहाँहरुको कुरा सुन्दा मलाई पनि अचम्म लाग्यो । सर्वोच्च अदालतले एउटा निर्णय दिईसकेको अवस्थामा, उहाँहरुले के कति कारणले त्यसो भन्या होला ? यसमा राजनीतिक कारणपनि हुनसक्छ ।’

लेखा समितिबाट एउटा निचोड आएपछि नेताहरुले पनि ठीकै छ भनेर प्रतिक्रिया दिने उनले दाबी गरे । उनले भने,‘हामी त त्यही आश गरेर बस्ने हो ।’ उनले वाईडबडी खरिद प्रक्रियामा सर्वोच्च अदालतले खरिद प्रक्रिया नियम, कानुनअनुसार नै रहेको भनेर फैसला गरेको स्पष्ट पारे । उनले भने,‘सर्वोच्च अदालतले हामीले सबै प्रक्रिया पूरा गरेर नियम र ऐनअनुसार नै जहाज खरिद भएको हो भनेर २०७४ मंसिरमा निर्णय गरिसकेको छ ।’ 

२ वटा वाईडबडी खरिदको लागि पहिलो किस्ता पठाउनुअघि संसदको अन्तर्राष्ट्रिय समितिले मन्त्रीसहित आफूहरुलाई बोलाएको कुरा उल्लेख गर्दै उनले भने,‘त्यसपछि एकपटक सार्वजनिक लेखा समितिले पनि हामीलाई बोलायो । त्यतिनै बेला अख्तियारबाट १७ वटा प्रश्न राखेर पत्र आएको थियो । त्यसको पनि हामीले सम्पूर्ण जवाफ पठायौं । त्यसपछि हामीलाई तीन वटा निकायबाट यसो नगर, उसो नगर भनेर पत्र पनि आएन । त्यही भएर हामीले खुरुखुरु काम गर्यौं । विमान खरिद प्रक्रियापनि विकास निर्माणको काम हो ।’

कंशाकारले वाईडबडी जहाज खरिदमा भ्रष्टाचार नभएको दावी गर्दै आफूले पदबाट राजिनामा नगर्ने पनि दाबी गरे । इतिहासमै सबैभन्दा कम मुल्यमा जहाज खरिद गरेको दावी गर्दै उनले बिरोध गर्नेहरुले कुरै नबुझेको बताएका छन् । कंशाकारले प्राबिधिक कुरा नबुझि हल्लाको पछि नलाग्न नेताहरुलाई सुझाव दिएका छन् । 

सर्बोच्च अदालतको आदेशभित्र रहेर बिमान खरिद गरिएको दावी गर्दै उनले संसदको लेखा समितीले पनि ‘क्लिन–चिट’ दिने विश्वास दिलाए । 
 

salt training

कमेन्ट गर्नुहोस्