०८ असार २०८३, सोमबार

'सिम्बा' फिल्म समीक्षा : दिमाग नलगाइकन हेर्नुपर्ने रमाइलो फिल्म

'सिम्बा' फिल्म समीक्षा : दिमाग नलगाइकन हेर्नुपर्ने रमाइलो फिल्म

काठमाडौं — रोहित शेट्टीको निर्देशनमा बनेको फिल्म सिम्बामा अजय देवगणको बाजीराव सिंघमको स्पष्ट प्रभाव देख्न पाइन्छ । रणवीर सिंहको पात्र सिम्बा संग्राम भालेराव सिंघमकै प्रभावमा छन् । 

तर सिंघम इमान्दार प्रहरी अधिकारी थिए भने सिम्बा मूर्ख र स्पष्ट रूपमा भ्रष्ट पात्र हो । बेइमानी गरेर पैसा कमाउन उसलाई लाज लाग्दैन । 

सिम्बाको आफ्नै स्वाग छ र प्रहरीको बर्दी उसमा फिट देखिन्छ । ऊ लाज पचेको मान्छे हो र उसको सेन्स अफ ह्युमर गतिलो छैन । ऊ आफू र आफ्नो ड्युटीलाई गम्भीरताका साथ लिँदैन । 

यस्तो चरित्रलाई रणवीर सिंहले बाहेक अरूले गतिलो गरी निर्वाह गर्न सक्दैनथिए । रणवीरका रूपमा रोहितले पर्फेक्ट अभिनेता फेला पारेका छन् । 

सिंघमको आवाजमा हामीले अनाथ बच्चा सिम्बाको कथा सुन्छौं । त्यसबाट थाहा लाग्छ, सिम्बा किन भ्रष्ट र निर्दयी मानिस बन्यो । ऊ प्रहरी बनेपछि उसको सरुवा मिरामार प्रहरी चौकीमा हुन्छ । ऊ भ्रष्ट प्रहरी हो भन्ने कुराको हल्ला
ऊ पुग्नुअघि नै पुगिसकेको हुन्छ । तर उसलाई त्यसको मतलब छैन र ऊ स्थानीय गुण्डाहरूसँग आफ्नो भाग लिन सफल हुन्छ । 

यसैबीचमा उसको प्रेम छिमेकमा बस्ने प्रिया (सारा खान) सँग पर्छ । अनि उसको अधिकारक्षेत्रमा भयानक अपराध भएपछि ऊ जिम्मेवार र राम्रो प्रहरी अधिकारी बन्छ र अपराधीहरूको शिकार गर्न निस्कन्छ ।

रोहित शेट्टीको फिल्ममा सूक्ष्म कुराको आशा गर्न सकिन्न । फिल्ममा सबै कुरा लाउड छ । फिल्म पूर्ण मसालेदार र पैसा वसूल छ । सिक्स प्याक भएको हिरो स्लो मोसनमा हिँडेको देख्दा दर्शकले सिट्ठी बजाउँछन् । 

संवादहरू धाँसु छन् । अनि पुरानो जमानाको एक्सन सिनले पनि रमाइलो अनुभव दिन्छ । हुन पनि रोहित यी सबै कुराका महारथी नै हुन् । तर फिल्मको कथा सहजै अनुमान गर्न सकिने किसिमको छ । 

शेट्टीले बलात्कार जस्तो गम्भीर विषय उठाएर एक असाधारण प्लट बनाउनुको साटो मसाला बनाउनतिर लागे । फिल्ममा प्रायः दोहोरिने संवाद अपराधप्रतिको उग्र प्रतिक्रिया देखाउनका लागि डिजाइन गरिएको होला तर त्यसले
झर्को लगाउँछ । 

फिल्मको पहिलो हाफ विद्यालयमा देखाइने नाटक जस्तो लाग्छ । दोस्रो हाफमा भने गति बढ्छ र दर्शकको आँखालाई स्क्रीनमा अडिरहन लगाउँछ ।

रणवीर सिंहले फिल्ममा अभिनयलाई उच्च स्तरमा लान पूर्ण कोशिश गरेका छन् । रणवीरलाई स्क्रीनमा देख्दा मज्जा आउँछ । प्रहरीको कर्तव्यलाई गम्भीर रूपमा नलिने पात्र एंग्री योङ म्यान बनेको गजब देखिन्छ । उनका वरिपरि
चाहिँ अस्वाभाविक अभिनय गर्ने कलाकारको झुण्ड नै भए पनि उनीप्रति आकर्षण कायम रहन्छ । 

सारा खान चाहिँ सुन्दर देखिन र एउटा गीतमा नाच्नबाहेक खासै केही गर्न पाउँदिनन् । हुन पनि पुरुषको दबदबा रहेको कथामा फिल्म खेल्न आएपछि साराले धेरै भूमिकाको अपेक्षा गर्न पनि मिल्दैन ।

सोनु सूदले डनका रूपमा राम्रो काम गरेका छन् र भूमिकामा पर्फेक्ट छन् । आशुतोष राणाले हेड कन्सटेबलका रूपमा कतै कतै त शानदार अभिनय देखाएका छन् भने कतै चाहिँ ओभरएक्टिङ गरेका छन् । 

फिल्मका अजय देवगणको एन्ट्री धमाकेदार छ । अक्षय कुमारले पनि सानतिनो क्यामियो गरेका छन् । फिल्मको सिक्वेलको तयारी पनि गरिँदैछ कि अनि त्यसमा अक्षयको भूमिका हुन्छ कि भनी अनुमान लगाउन सकिन्छ । 

रोहित शेट्टीले विशुद्ध मनोरञ्जक फिल्म बनाउने आफ्नो कलालाई नै चम्काएको भए हुन्थ्यो, सामाजिक सन्देश दिनतिर नलागेको भए हुन्थ्यो जस्तो चाहिँ लाग्छ । 

दैनिक भास्करमा प्रकाशित समीक्षाको भावानुवाद

फिल्म : सिम्बा
कलाकार : रणवीर सिंह, सारा खान, सोनु सूद, आशुतोष राणा आदि
निर्देशक : रोहित शेट्टी
विधा : एक्सन
अवधि : दुई घन्टा ४५ मिनेट
रेटिङ : ३/५

salt training

कमेन्ट गर्नुहोस्