
काठमाडौं — अमेरिका र मेक्सिकोको सीमामा पर्खाल बनाउनका लागि राष्ट्रपति डोनल्ड ट्रम्पले राखेको मागका विषयमा सांसदहरूबीच सहमति नभएपछि अमेरिकी सरकारको कामकाज अर्को हप्ता पनि ठप्प हुने भएको छ ।
बिहीवार यसमा कुनै समाधान ननिस्केपछि संकट गहिरिएको हो । क्रिसमसको आधिकारिक छुट्टीपछि केही मिनेटका लागि बोलाइएको सिनेट बैठकमा अर्को बुधवार बजेटमा चर्चा गर्ने फैसला लिइएको छ ।
विपक्षी डेमोक्रेट पार्टीका सांसदहरूले सीमामा पर्खाल बनाउनका लागि पाँच अर्ब डलर ट्रम्पलाई दिन अस्वीकार गरेका छन् । अनि ट्रम्प चाहिँ यो धनराशि प्राप्त नहुन्जेल सरकारलाई बजेट नदिने अड्डी कसिरहेका छन् ।
ह्वाइट हाउस प्रवक्ता सारा स्यान्डर्सले डेमोक्रेटहरूमाथि अमेरिकी नागरिकको साटो अवैध शरणार्थीको रक्षा गरेको आरोप लगाएकी छन् । देशको सुरक्षालाई प्राथमिकता नदिने प्रस्तावमा ट्रम्पले हस्ताक्षर नगर्ने उनले बताइन् ।
शटडाउन (सरकारी कामकाज ठप्प) का कारण आठ लाख संघीय कर्मचारीले तलब खान पाएका छैनन् ।
ट्रम्पले बिहीवार लगालग ट्वीट गर्दै डेमोक्रेटहरू अवैध शरणार्थी, खुला दक्षिणी सीमा र त्यहाँ हुने अपराधलाई प्रोत्साहन गरिरहेको आरोप लगाए । मादक पदार्थ, मानव तस्करी अनि हाम्रो देशमा आउने आपराधिक समूहका सदस्यलाई रोक्नु आवश्यक रहेको पनि उनले बताए ।
विपक्षीहरूले चाहिँ राजनीतिक फाइदा लिनका लागि राष्ट्रपतिले अवैध शरणार्थीको खतरालाई बढाइचढाइ प्रस्तुत गरेको आरोप लगाएका छन् ।
एक वरिष्ठ डेमोक्रेट सिनेटरले ट्वीट गर्दै भने, ‘उनले पर्खाल बनाउनका लागि पाँच अर्ब डलरको बकवास माग गरेर हाम्रो सरकारलाई बन्धक बनाएका छन् । यो पर्खाल बेकार र अप्रभावशाली साबित हुनेछ ।’
अमेरिकामा बजेटका सम्बन्धमा घम्साघम्सी गरेर सरकारको कामकाज आंशिक रूपमा ठप्प हुने कुरा सामान्य नै हो ।
एजेन्सी