काठमाडौं– प्रतिनिधिसभाका सांसद नवराज सिलवालले दुर्घटना न्यूनीकरणका लागि सरकारले कार्यदल बनाउनु पर्ने बताएका छन् ।
सडक दुर्घटना न्यूनीकरणका लागि ठोस खालको नीति निर्माण बनाउनका लागि कार्यदल आवश्यक भएको सिलवालको भनाइ थियो ।
शुक्रवार बसेको संसद बैठकमा बोल्दै सांसद सिलवालले केही दिनयता श्रृंखलावद्ध दुर्घटनाहरु भएका भन्दै त्यसको न्यूनीकरणमा सरकार गम्भीर बन्नु पर्ने बताएका हुन् ।
अहिले दैनिक सात जना दुर्घटनाका कारण मारिने र दैनिक २३ जना घाइते हुने विभिन्न रिपोर्टहरुमा देखिएको भन्दै सांसद सिलवालले त्यसको लागि मुख्य जिम्मेवार पुराना गाडी र सडक भएको बताए ।
‘देशमा ३० हजार किलोमिटर सडक छ भन्ने अध्ययनहरुले देखाउँछ एक तिहाइ सडक इन्जिनियरिङ भन्दा फरक छ, आफू खुसी बनाइएका सडक छ जसका कारण निर्दोश जनताहरुको अकालमा मृत्यु भइरहेको छ’ सिलवालले भने ।
उनले दुर्घटना बढ्नुका विभिन्न कारणहरु उल्लखे गरे ।
‘पुराना गाडी छन् क्षमता भन्दा धेरै मान्छे राखिन्छ, सवारीको चाप धेरै छ तर सडक कमजोर छ’ सिलवालले भने,‘चालकहरुको लापवाही चालकको अनुमति पत्र वितरण गर्ने कमजोर प्रणालीमा पनि समस्या छ । यसमा सुधार ल्याउन जरुरी छ ।’
सिलवालले दुर्घटना बढ्नुमा सवारी चालकलाई हुने सामान्य जरिवाना, लापरवाही पूर्वक गाडी चलाउने ड्राइभर, ट्राफिक र सडक इन्जिनियरिङबीच सहकार्य अभाव लगात रहेको बताए ।