
काठमाडौं - नेपाली कांग्रेसका प्रभावशाली युवा नेता एवं सांसद गगन थापाले कर्मचारी समायोजन अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेका छन् । प्रदेश र स्थानीय तहका लागि आवश्यक ऐन नबनी संसद्लाई छलेर अध्यादेश ल्याइएको भन्दै थापाले त्यसलाई फिर्ता गर्न माग गरेका हुन् ।
'सरकारलाई अनुरोध छ, अध्यादेश फिर्ता लैजनानुस् । तत्काल तीनै तहको ऐन बनाउनुस् । संसद्मा रातारात काम गरौं । हामी काम गर्न तयार छौं । कर्मचारीको समस्या समाधान गर्ने कुरामा सरकारसँग मिलेर काम गर्ने प्रस्ताव गर्दै म यो अध्यादेश फिर्ता लिन माग गर्दछु,' गगनले भने ।
कर्मचारी समायोजनमा सुल्टो बाटो हिँड्न प्रधानमन्त्रीलाई आफूहरूले पटक-पटक आग्रह गरे पनि प्रधानमन्त्रीको रुची अर्कै कुरामा रहेको भन्दै गगनले कटाक्ष गरे ।
उनले भने, 'सम्माननीय प्रधानमन्त्रीज्यूलाई हामीले पटक-पटक भन्यौं- नबोल्नुस्, काम गर्नुस् । तर दु:खका साथ भन्नुपर्छ, प्रधानमन्त्रीज्यूको जम्मा दुईवटा रुची छ- कि बोल, कि पोल !'
गगनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीवार सदनमा दिएको अभिव्यक्तिप्रति पनि कटाक्ष गरे ।
'नेकपाका अध्यक्षले हिजो यो सदनमा भन्नुभयो- लोकतान्त्रिक प्रणाली छिटोछिटो विकास हुने प्रणाली होइन । नाच्न नजान्ने आँगन टेडो यस्तोलाई भन्छ । हुन त सरकारले चलाएको कामको ढंग नपुगिसके पछाडि यस्तो कुतर्क गर्न हामी बाध्य हुन्छौं ।'
कर्मचारी समायोजन अध्यादेशलाई बेढंगी कदमको संख्या दिँदै गगनले कर्मचारी आन्दोलनको पक्षमा पनि आवाज उठाए ।
'संघ, प्रदेश र स्थानीय यी तीनै तहमा कर्मचारी आन्दोलनमा छन् । अब सरकारले के गर्छ ? कि पहिले जस्तै यी थाङ्नेहरू हुन् भनेर घोक्र्याएर पठाउँछ !' गगनले भने, 'यदि त्यसो हो सरकारले पहिला सरकारले ऐनामा आफ्नो अनुहार हेरोस् ।'