
काठमाडौं - परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी परराष्ट्रमन्त्री माइक पम्पेओका बीच वाशिङटनमा भएको हिन्द प्रशान्त रणनीतिको केन्द्रमा नेपाललाई राख्ने सहमतिलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले विरोध गरेको छ ।
मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले एक वक्तव्य जारी गर्दै यो सहमति र अमेरिकी संसद्ले पारित गरेको रेसिप्रोकल एक्सेस टु तिब्बत एक्टको विरोध गरेका हुन् । यसबाट नेपालको भूमि प्रयोग गरेर अमेरिकाले चीनमा अस्थिरता निम्त्याउन खोजेको अध्यक्ष नेपालको आरोप छ ।
वक्तव्यको पूर्णपाठ :
अमेरिकाको ह्वाइट हाउसले कांग्रेसका सिनेट र प्रतिनिधि सभाद्वारा पारित गरिएको “रेसिप्रोकल एक्सेस टु तिब्बत एक्ट” जसलाई `तिब्बत यात्रासम्बन्धी रेसिप्रोकल एक्सेस´ पनि भनिन्छ, त्यसको अनुमोदन गर्नुका साथै त्यसलाई अमेरिकाको औपचारिक कानुन नै बनाएको र नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेश मन्त्री माइक पोम्पेओबीच यही डिसेम्बर १८ तारिखका दिन भएको भेटवार्तामा `इन्डो प्यासिफिक स्ट्राटेजी´ मा नेपालको केन्द्रीय भूमिका हुने भन्ने विषयप्रति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको गम्भीरतापूर्वक ध्यानाकर्षण भएको छ ।
मोर्चा यो चीनको आन्तरिक मामिलामा गरिएको गम्भीर हस्तक्षेपका साथै चीनलाई अस्थिर बनाएर उसले द्रुतगतिमा गरिरहेको विकासलाई रोक्ने अमेरिकी चाल पनि हो भन्ने ठहरसमेत गर्दछ ।
प्रस्तुत “तिब्बत यात्रासम्बन्धी रेसिप्रोकल एक्सेस”को प्रावधानअनुसार चीन सरकारले जुनसुकै अमेरिकी पत्रकार, कूटनीतिज्ञ र पर्यटकलाई तिब्बतमा प्रवेश गर्न छुट दिनुपर्छ। तिब्बतमा प्रवेश हुनबाट कुनै पनि अमेरिकीलाई रोकेमा चिनियाँ पदाधिकारीलाई अमेरिका प्रवेशमा अवरोध गरिने यस कानूनको मुख्य उद्देश्य अमेरिकी जनतालाई तिब्बतमा अझ स्वतन्त्र रुपमा घुमफिर गर्ने अवसर प्रदान गर्नु भन्ने रहेको छ ।
अमेरिकी कांग्रेसको उक्त कारवाही चीनको आन्तरिक मामिलामा अमेरिकाले गरेको अत्यन्तै गम्भीर हस्तक्षेप हो ।
त्यस्तै नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग १८ डिसेम्बरमा भएको भेटघाटमा अमेरिकी विदेशमन्त्री माइक पाेम्पेओले “इन्डाे-प्यासिफिक स्ट्राटेजी” (हिन्द-प्रशान्त रणनीति) मा नेपालको केन्द्रीय भूमिका हुने भनी बताएकाे विषयप्रति पनि ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा गम्भीर आपत्ति प्रकट गर्दछ ।
नेपाल र अमेरिका मित्रराष्ट्र भएका हुँदा उच्चस्तरीय भेटघाट हुनु जति सुखद कुरा हो त्यसका पछाडि चीनलाई अस्थिर पारेर उसको गति र प्रगतिमा शिथिलता ल्याउने बदनियत हुनु उत्तिकै भर्त्सना गर्नुपर्ने कुरा हो ।
हिन्द प्रशान्त रणनीति अमेरिका र भारतको यस्तो चक्रव्यूह हो जसमा फस्नु नेपालका निम्ति प्रत्युत्पादक हुनेछ ।
`इन्डो प्यासिफिक स्ट्राटेजी´ नेपालको ढाडमा टेकेर चीनलाई अवरोध गर्ने इन्डो अमेरिकी चाल हो भन्ने नबुझ्ने हो भने नेपाल थप द्वन्द्वमा फस्ने निश्चित छ ।
यस सन्दर्भमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेपाल इन्डो प्यासिफिक स्ट्राटेजिक अलाइन्समा रहनु भनेको नेपालले आफ्नै खुट्टामा बन्चरो हान्नु हो भन्ने ठान्दै चीनलाई कमजोर र अस्थिर बनाउने योजनाअनुसार अख्तियार गरिएको यो अमेरिकी रणनीतिक घेराबाट बाहिर निस्कन सरकारसँग आग्रह गर्दछ । यसका विपरीत सरकार उक्त रणनीतिको साझेदार बनेमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चालाई कदापि सह्य नहुने चेतावनी दिन चाहन्छ ।
फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा