
काठमाडौं– उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सरकारी अस्पतालहरुको अवस्था दर्दनाक भएको बताएका छन् । उनले अहिलेसम्म सरकारी अस्पताल पशुपतिनाथले चलाइरहेको जस्तो लागेको पनि टिप्पणी गरेका छन् ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले शिक्षा र स्वास्थ्य क्षेत्र सवल भयो भनेमात्रै देश बन्ने धारणा राखे । उनले भने,‘मान्छे ज्ञानी र स्वस्थ भयो भने उसले संसार बदल्छ ।’
अहिलेसम्म स्वास्थ्य क्षेत्रलाई सबैभन्दा कम प्राथमिकतामा राखिएको र त्यसपछि शिक्षालाई राखिएको गुनासो पोखे । उनले भने,‘अब स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । चीन, जापान र सिंगापुरजस्ता विकसित देशहरुले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छन् । त्यही भएर उनीहरु विकसित भएका हुन् । नेपालमा यी दुवै क्षेत्रमा लगानीको आवश्यकत्ता छ। अहिले धेरै कम भएको छ ।’
यद्यपी यादवले जनस्वास्थ्यको क्षेत्र भने नेपालमा राम्रो भएको स्पष्ट पारे ।