
सुर्खेत–दैलेख जिल्लाको पश्चिममा पर्ने आठबीस नगरपालिकाको केन्द्र राकम कर्णालीमा नयाँ बसपार्क निर्माणका लागि डीपीआर तयार भएको छ । डीपीआर बनेसँगै राकम कर्णालीमा बसपार्क बन्ने करिब–करिब पक्का भएको छ ।
राकम कर्णाली दश नयाँ शहर निर्माणको सुचीमा परेको स्थान पनि हो । आठबीस नगरपालिकाको लगानीमा उक्त डीपीआर सम्पन्न भई नगरपालिकाले नियात्रा कन्सल्टेन्ट प्रा.लि.लाई बुझाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार राकम कर्णालीमा बसपार्क निर्माण भएको खण्डमा अहिलेको जस्तो अव्यवस्थित पाकिङ हटने र त्यसले राकम कर्णाली बजारलाई व्यवस्थित बन्न मद्दत पुग्ने बताए । बसपार्क निर्माणका लागि आफूहरुसँग स्रोत नभए पनि नगरपालिका संघसँग बजेट माग गरिएको र सहयोग गर्ने सकारात्मक आश्वासन पाएको नगरप्र मुख खड्गराज उपाध्यायको भनाइ छ ।
डीपीआर अनुसार १५ करोड रुपैयाँ लागत लाग्ने देखिएको छ । नगर प्रमुख उपाध्यायले भने, ‘त्यसकालागि हामीले नगरपालिका संघसँग बजेट माग गरेका छौं । उहाँहरुले सहयोग गर्ने पनि भन्नु भएको छ । तर, अहिले हामीले सम्झौता भने गरेका छैनौं ।’
बसपार्क निर्माण भएपछि स्थानीयले रोजगारी पाउने उनको भनाइ छ । ‘अहिले छरिएर बसहरु पाकिङ गर्ने भएका कारण रोजगारी सिर्जना भएको छैन ।’ उनले भने, ‘नयाँ बसपार्क बनेको खण्डमा कम्तिमा सय जनाले रोजगारी पाउने मेरो अपेक्षा हो ।’
बसपार्क आठबीस नगरपालिका वडा नं. ४ को सीम भन्ने स्थानमा बनाइने छ । बसपार्क ३९ रोपनी क्षेत्रफलमा बन्ने डीपीआरमा उल्लेख छ ।