
चितवन –चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा चालू आर्थिक वर्षको हालसम्म २१ वटा गैंडा प्राकृतिक कारणले मरेका छन् । निकुञ्ज विभागले प्राकृतिक कारणले गैंडा मर्ने क्रम बढेपछि अनुसन्धानका लागि समिति नै गठन गरेको छ ।
यस आर्थिक वर्षमा प्राकृतिक कारणले मरेकामध्ये नौ वटा २५ वर्षभन्दा तलका छन् । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार प्राकृतिक कारणले मरेकामध्ये निकुञ्जभित्रका २० वटा र जिल्ला वन कार्यालयअन्तर्गत एउटा रहेको छ । निकुञ्जभित्र प्राकृतिक कारणले मरेकामा भाले–भाले जुधेर पाँच, ढिस्कोबाट लडेर एउटा, बच्चा पाउन नसकेर एउटा, दलदलमा फँसेर दुई र बूढो भएर कालगतिबाट ११ वटा रहेका छन् । जिल्ला वनअन्तर्गतको पञ्चकन्या सामुदायिक वनमा जुधेर एउटा गैंडा मरेको छ ।
कालगतिले बाहेक निकुञ्जमा मरेका गैंडा १५ देखि २५ वर्षभित्रका रहेको घिमिरेले बताए । गैंडाको औसत आयु ६० वर्ष हुन्छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले सङ्ख्या बढ्दै गएपछि प्राकृतिक कारणले मर्नेको सङ्ख्या पनि बढ्दै गएको बताए । एउटा गैंडाको शवपरीक्षण गर्दा मुटु र कलेजोमा समस्या देखिएको भए पनि अन्यमा कुनै समस्या नदेखिएको उनले बताए । यद्यपि प्राकृतिक कारणले मर्ने सङ्ख्या बढिरहेकाले यसको खोजी गर्ने काम पनि भइरहेको उनले बताए । अघिल्लो वर्षको बाढीले गैंडाको समूहलाई तितर बितर बनाएपछि प्राकृतिक कारणले बढी गैंडा मरेको ढकाल बताउँछन् । गत वर्ष प्राकृतिक कारणले २५ गैंडा मरेका थिए ।
निकुञ्जको तथ्याङ्कअनुसार सन् २०१४ मा आठ, २०१५ मा १५, २०१६ मा १४ र सन् २०१७ मा २४ वटा गैंडा प्राकृतिक कारणले मरेका छन् । यसअघि चोरी–शिकारीबाट सबैभन्दा बढी सन् २००२ मा ३६, सन् २००३ मा ३०, सन् २००५ मा १६ र सन् २००० मा १५ वटा गैंडा मारिएका थिए । २०७३ साल चैत २५ गतेपछि चोरी–शिकारीबाट भने गैंडा मर्न पाएका छैनन् । चोरी–शिकारीबाट गैंडा नमरे पनि प्राकृतिक कारणबाट मर्ने सङ्ख्या बढेपछि चिन्ता व्यक्त गरिएको छ ।
झण्डै दुई वर्षयता चोरी–शिकारीबाट भने गैंडा मारिएका छैनन् । निकुञ्जमा सशस्त्र द्वन्द्वको समयमा धेरै गैंडा चोरी–शिकारीबाट मारिएका थिए । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैंडा छन् । यसै आर्थिक वर्षमा पुनः गैंडाको गणना हुँदैछ । नारायण अधिकारी / रासस