
काठमाडौं– परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले लोकान्तर डट्कममा २०७५ पौष १२ गते प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । आइतवार एक वक्तव्य प्रकाशित गरी वैरागीले समाचार आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले प्रेरित रहेको भन्दै त्यसको खण्डन गरेका हुन् ।
‘परराष्ट्र मन्त्रालयले गत बुधवार निकालेको विज्ञप्तिको सन्दर्भमा प्रकाशित समाचारको सन्दर्भमा मन्त्रालयले आन्तरिक छानविन गरिरहेको यसअघि नै सार्वजनिक रुपमा आइसकेको छ,’ खण्डन वक्तव्यमा भनिएको छ, ‘सो जान्दा जान्दै पत्रकारिताको सामान्य धर्मसमेत निर्वाह नगरी मेरो चरित्र हत्या गर्ने उद्देश्यले समाचार लेखेको देखिन्छ ।’
सचिव वैरागीले अस्टे«लियाका लागि नेपाली राजदूत लक्की शेर्पासँग सचिवको नाताले कार्यालमा भेटघाट गरेको भएपनि कार्यालय बाहिर भेटघाट नभएको बताएका छन् ।
‘मन्त्रालयको आन्तरिक छानबिन समितिले आफ्नो प्रतिवेदन दिइसकेको प्रसंगमा अध्ययन प्रभावित पार्ने भन्ने कुरा असान्दर्भिक छ । समितिले आफ्नो काम स्वतन्त्र रुपमा गरेको जानकारी गराउँछु,’ खण्डन वक्तव्यमा भनिएको छ ।
यस्तो छ सचिव वैरागीले जारी गरेको खण्डन विज्ञप्ती:

सम्पादकको टिप्पणी :
परराष्ट्र सचिवको खण्डनपत्र जस्ताको तस्तै छापिदिएका छौं, यद्यपि उहाँका कतिपय ठहर र जिकिर विवादास्पद छन् । लोकान्तर कुनै व्यक्तिको चरित्र हत्यालाई कार्यसूची बनाएर थालिएको अनलाइन समाचार सेवा होइन । छानबिनको घेरामा परेकी राजदूतसितको भेटघाटलाई सचिव स्वयंले स्वीकार गरेको अवस्था छ ।
लोकान्तरका सम्पादकको निजी स्वार्थ पूरा गराउन खोजेको ठानेको छु भन्ने सचिवको दावीमा कुनै सत्यता छैन । त्यस्तो भएको भए प्रमाणसहित विषय खुलाएर पुष्टि गर्न हामी चुनौती दिन्छौं ।
पत्रकारिताको धर्म के हो भन्नेबारे स्वतन्त्र प्रेसलाई सचिव वैरागीको प्रवचन आवश्यक छैन । र, संविधानले प्रेस स्वतन्त्रता सम्बन्धमा राखेका प्रावधानबारे हामीलाई परराष्ट्र सचिवबाट पाठ सिक्नुपर्ने अवस्था छैन ।
लोकान्तर करदाताले तिरेको रकमबाट तलब(भत्ता खाने जुनसुकै तहको कर्मचारी भए पनि उसप्रति जिम्मेवार हुन सक्दैन । जिम्मेवार छ भने आफ्ना विज्ञ एवं सहृदयी पाठकहरुप्रति मात्र छ ।