विराटनगर–पाँचौ साफ महिला फुटबल च्याम्पिन्सीप आयोजनाका लागि विराटनगर महानगरपालिका र अखिल नेपाल फुटबल संघ एन्फाबीच सम्झौता भएको छ । विराटनगरमा भएको सम्झौतामा फागुन २८ गतेदेखि शुरु प्रतियोगिताका लागि महानगरले रंगशालामा खेलकुद प्रयोजनका लागि भौतिक पूर्वाधार निर्माण गर्ने भएको छ ।
महानगरका मेयर भीम पराजुलीले साफको आयोजना गर्न पाउनु नै विराटनगरका लागि अवसर भएको बताए । खेलको माध्यमबाट प्रदेश एकका विभिन्न पर्यटकीय क्षेत्रलाई समेत टेवा पुग्ने बताउँदै उनले पहिलो अन्तराष्ट्रिय प्रतियोगिताको आयोजनामा कुनै कमीकमजोरी आउन नदिने प्रतिबद्धता व्यक्त गरे ।
सम्झौताका क्रममा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले अन्र्तराष्ट्रियस्तरबाट ३ सय बढि प्रतिनीधि, खेलाडी तथा खेल प्रशंसकको प्रत्यक्ष सहभागिता रहने प्रतियोगिताले विराटनगरको गरिमा बढाउने उल्लेख गरे । विराटनगरमा हुने प्रतियोगिताले भारत, भुटान, बंगलादेशका पयर्टकलाई समेत आकर्षण गर्न सकिने अध्यक्ष शेर्पाले जानकारी दिए ।
सम्झौता अनुसार महानगरले प्रतियोगिता शुरु हुनु १५ दिन गावै संरचनाहरु निर्माण गरी एन्फालाई हस्तान्तरण गर्नेछ । त्यसैगरी, एन्फाले साफमा सहभागि राष्ट्रका प्रतिनीधि, खेलाडीलाई आमन्त्रण तथा व्यवस्थापन गर्नेछ । प्रतियोगिताका लागि गृहमन्त्रालयसंग समन्वय गर्दै शान्ति सुरुक्षाको ब्यवस्थापन पनि एन्फाले नै गर्नेछ । साफ आयोजनाका क्रममा भएका आम्दानी तथा खर्चहरु समेत महानगरलाई जानकारी गराउने सम्झौता पत्रमा उल्लेख छ ।