
काठमाडौं– ‘राष्ट्रिय संकटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर र समाप्त पारेर एकताको सूत्रमा बाँधिनुपर्छ, राष्ट्र रहेन भने हामी रहन्नौं .... ।’– वीपी कोइराला
२०३३ सालको पुष १६ गते आफ्नो ८ वर्षे राजनीतिक निर्वासन त्यागेर वीपी कोइराला भारतको पटनाबाट नेपाल फर्केका थिए । नेपालको पंचायती सरकारले बीपी बिरुद्ध राजद्रोह र देशद्रोहको मुद्दा लगाएको थियो । उक्त मुद्दामा बीपीलाई फाँसी पनि हुन सक्थ्यो ।
जननायकको उपाधि पाएका बीपी भारत निर्वासनपछि स्वदेश फर्केको दिन पुस १६ लाई नेपाली काङ्ग्रेसले हालसम्म राष्ट्रिय मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ । काङ्ग्रेसका अन्य नेताहरू शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाई र निलाम्बर पन्थी पनि बीपी र गणेशमानसँगै सोही दिन निर्वासनबाट स्वदेश फर्केका थिए ।
नेपाली कांग्रेस काठमाडौँ जिल्ला समितिले पुष १६ कै अवसर पारेर काठमाडौँस्थित एक पार्टी प्यालेसमा मेलमिलाप दिवसको कार्यक्रम गर्यो । उक्त कार्यक्रममा सभापति शेरबहादुर देउवा लगायत अन्य केन्द्रीय नेताहरू उपस्थित थिए । कांग्रेस सभापति देउवाले वीपीको मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।
४२ वर्षअघि २०३३ सालमा नेपालको राजनीतिक परिस्थिति फरक थियो । तत्कालीन राजा विरेन्द्र शाहको नेतृत्वमा देशमा निर्दलीय पञ्चायत थियो । राजाको आड भरोसा पाएका पञ्चहरू बहुदलवादीहरूलाई टिक्न दिँदैनथे । जनतामा सुख शान्ति थिएन । दलहरू निषेधित थिए । जनताले आफ्ना प्रतिनिधि चुन्न पाउने अधिकार गुमाएका थिए । पञ्चायती शासन शैली निरङ्कुश मात्र थिएन, स्वेच्छाचारी पनि थियो ।
तर अहिले परिस्थिति फेरिएको छ । नेपाल लोकतान्त्रिक गणतन्त्र बनेको छ, जनतामाथि दमन गरेर शासन गर्ने राजाहरू अहिले सामान्य जनता भएका छन् । फेरिएको यो परिस्थितिमा पनि वीपीको मेलमिलाप नीति उत्तिकै सान्दर्भिक हुने कांग्रेस नेताहरू बताउँछन् ।
‘वीपीको त्यो मेलमिलाप नीतिको केन्द्रमा राष्ट्रिय स्वार्थ थियो,’ कांग्रेसका केन्द्रीय सदस्य तथा युवानेता गगन थापा भन्छन्, ‘अहिलेको नेपाली कांग्रेसले पनि राष्ट्रिय स्वार्थलाई नै केन्द्रमा राखेर त्यो दिनलाई सम्झिरहेको छ ।’
त्यतिबेला राजाको निरंकुशताले जनता आहत बनेका थिए । त्यो बीचमा पनि राष्ट्र नै नरहने खतरा वीपीले देखे । राष्ट्र रहेमात्र राजसंस्था रहन सक्ने र कांग्रेसको पहिलो स्वार्थ राष्ट्र र राष्ट्रिय स्वाभिमानको रक्षा गर्नु थियो । बीपीले यही कुरा मनन गरेर राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्के ।आफूमाथि पञ्चायतले लगाएको कठोर मुद्दाहरूले उनलाई केही फरक पारेन ।
तर अहिले मेलमिलाप चाहिँ कोसँग गर्ने त ? भन्ने प्रश्नमा थापा भन्छन्, ‘अहिलेको राष्ट्रिय स्वार्थ परिवर्तनकारीहरूको मेलमिलापले मात्र कायम राख्न सक्छ, हामी देशलाई पछाडि फर्काउन खोज्नेहरू विरुद्ध एकजुट हुनुपर्छ । वीपीको मेलमिलाप नीति अहिलेपनि हाम्रो सन्दर्भमा यसैकारणले उत्तिकै महत्त्वपूर्ण रहेको छ ।’
थापाका अनुसार परिवर्तनकारी शक्तिहरूसँग मेलमिलाप गर्ने कांग्रेसको नीति रहेको आशय देखिन्छ । तर परिवर्तनकारी शक्तिहरू को को हुन् भन्ने विषयमा भने कांग्रेस अस्पष्ट देखिन्छ । कांग्रेस महासमिति बैठकमा प्रस्तुत गरिएको राजनीतिक दस्तावेजमा अहिलेको सत्ताधारी कम्युनिस्ट पार्टी सर्वसत्तावादी भएको निष्कर्ष उल्लेख गरिएको थियो ।
महासमिति बैठकपछि नेकपाको विरुद्धमा कांग्रेसले मोर्चाबन्दी शुरू गर्ने संकेत गरेको स्वयम् गगन थापाले बताएका थिए । त्यसो भए यो मेलमिलाप नेकपा विरुद्ध हो त ? ‘मेलमिलाप कसैका विरुद्धपनि केन्द्रीत हुनुहुन्न’ थापा भन्छन्, ‘बदलिँदो परिस्थितिमा जसले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेको छ, हामी उसैसँग मिलमिलाप गर्छौं ।’
हरेक वर्ष मनाइने मेलमिलाप दिवस कांग्रेसभित्र रहेको पुरातनवादी विचार हटाउन पनि सहयोगी रहने कार्यक्रममा सहभागी सदस्यहरू बताउँछन् । ‘देशलाई कांग्रेसकै नेतृत्वमा यहाँसम्म ल्याइयो, द्वन्द्वरत माओवादीलाई राजनीतिको मूलधारमा ल्याउन पनि वीपीकै मेलमिलाप नीतिको खाँचो थियो,’ काठमाडौँ क्षेत्र नम्बर ५ का महासमिति सदस्य राजेश अधिकारी भन्छन्, ‘पार्टीलाई आन्तरिक रूपमा बलियो बनाउन र पार्टी बाहिरका राष्ट्रिय स्वार्थ मिल्ने शक्तिहरूसँग मेलमिलाप गरेर जानुपर्ने सन्देश वीपीले दिएका छन् ।’
कांग्रेसभित्रै मेलमिलापको खडेरी !
उसो त नेपाली कांग्रेसभित्र आन्तरिक मेलमिलाप कै खडेरी छ । आन्तरिक रूपमा घात प्रतिघातको श्रृंखला चलेकै कारणले गएको आम निर्वाचनमा कांग्रेसले लज्जास्पद पराजय भोगेको जगजाहेर छ ।
शीर्ष नेताहरुबीच मेलमिलाप र एकता नभएको भन्दै केही दिन अघिसम्म राजधानीमा चलेको महासमिति बैठकमा सहभागी नेता कार्यकर्ताले पार्टी शीर्ष नेतृत्वलाई मिल्न दबाब दिए । मञ्चबाटै पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले हात मिलाएर एकता र मेलमिलातको सन्देश दिन खोजेका पनि थिए । तर उक्त मेलमिलाप देखावटीमात्र भएको स्वयं कांग्रेस नेता कार्यकर्ताको आरोप छ ।
महासमिति बैठक सकिए लगात्तै अर्का नेता कृष्ण सिटौला लगायतका नेताले पार्टी भित्रको गुटवन्दीलाई सार्वजनिक नै गरे । नेता सिटौलाले त देउवा र पौडेललाई नेता नै नमान्ने घोषणा गरे । अरुलाई मेलमिलापको पाठ सिकाउने कांग्रेसले कम्तिमा आफूभित्रका समस्या समाधानका लागि वीपीको मेलमिलाप नीतिलाई सम्झिए हुने नि !