
धनगढी – जिल्ला प्रहरी कार्यालय कैलालीले गैंडाको खागसहित १ जनालाई बुधवार सार्वजनिक गरेको छ ।
धनगढी उपमहानगरपालिका–६ जाईबाट बरामद गरेको १ थान गैंडाको खागसहित बाजुराको बुढीगंगा नगरपालिका–३ स्थायी घर भएका ५१ वर्षीय चक्र भण्डारीलाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरि ओलीले १ किलो २९० ग्राम तौल रहेको खागजस्तो देखिने वस्तुको मोटाई तथा गोलाई ४२ दशमलव ५ सेन्टीमिटर र लम्बाई ३२ दशमलव ४ सेन्टीमिटर रहेको बताए ।
खागसहित पक्राउ परेका भण्डारीलाई बुधवारै डिभिजन वन कार्यालय धनगढीमा बुझाइने प्रहरी नायव उपरीक्षक ओलीले जानकारी दिए ।
हाल धनगढीको जाईमा बस्दै आएका भण्डारीले स्थानीय गगनसिंह रौउलेको घरमा कालो रंगको झोलाभित्र सेतो रंगको कपडामा बेरेर सो खाग लुकाएर राखेका बताइएको छ ।
वन्यजन्तु ओखेटोपहार अवैध ओसारपसार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा भण्डारीलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक ओलीले बताए ।
भण्डारीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार कारवाही गरिने भएको छ । सो ऐन अनुसार ५ देखि १५ सम्म कैद र ५ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान रहेको छ ।