०३ असार २०८३, बुधबार

कुलो निर्माणपछि २९ हेक्टर जमिनमा सिँचाइ

कात्तिक २०, २०७४
कुलो निर्माणपछि २९ हेक्टर जमिनमा सिँचाइ
सिन्धुली, २४ फागुन –ठाडोकुलो फाँट सिँचाइ योजना सम्पन्न भएपछि कमलामाई नगरपालिका–५ मा २९ हेक्टर खेतीयोग्य जमिन सिञ्चित भएको छ । नेपाल सरकार, स्विस सरकारको सहयोग र स्थानीयवासीको जनसहभागितामा कुलो निर्माण भएपछि खेतीयोग्य जमिन सिञ्चित भएको हो ।

ग्वाङखोलामा कुलोको मुहान बनाई एक हजार ६ सय ७९ मिटर लामो कुलो निर्माण सम्पन्न गरिएको ठाडोकुलो फाँट सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।

कुलो निर्माण गर्न स्थानीयवासीबाट सङ्कलित तीन लाख १७ हजार एक सय ४३ रुपैयाँ सामग्री र त्यसको ढुवानीमा खर्च गरिएको थियो । यस अतिरिक्त नेपाल सरकारबाट पाँच लाख ७९ हजार २९ रुपैयाँ र स्विस सरकारबाट आठ लाख ६८ हजार पाँच सय ४४ रुपैयाँ प्राप्त भएको थियो ।

कुल ४६ लाख २१ हजार दुई सय ३९ रुपैयाँको लागतमा कुलो निर्माण गरिएको हो ।

साना सिँचाइ परियोजनाबाट एक हजार ६ सय ७९ मिटर लामो सिँचाइ कुलो निर्माण भएपछि सिन्धुली फाँट नै बाह्रै महिना सिञ्चित हुने भएको छ । सिँचाई कुलो निर्माण भएपछि तरकारी खेतीका साथै अन्य अन्नबाली लगाउन सजिलो भएको स्थानीयवासी यमप्रसाद फुयाँलले बताउनुभयो । उनले भने, “अहिले नेपाल सरकार र स्विस सरकारको सहयोगमा पक्की कुलो मर्मत गरेपछि हामीलाई बर्खायाममा दैनिक बाँध र कुलो बनाउनुपर्ने बाध्यता हट्ने भएको छ । खोलामा पानी भए पनि वर्षाको समयमा खेतमा पानी लगाउन समस्या थियो । अब बाह्रै महिना जमिनमा सिँचाइ गर्न सक्ने भएका छौं।”

अब विगतमा कुलाको बाँध र कुलो बनाउन जङ्गल गएर दैनिक सोत्तर ल्याउनुपर्ने झन्झटबाट पनि स्थानीयवासी मुक्त भएका छन् । पहिला कुलो तथा बाँध बनाउँदा बनाउँदै ग्वाङ खोलाको शिरमा पानी पर्दा आएको बाढीले बगाइदिने र दैनिक बाँध र कुलो बनाउन जानुपर्ने हुन्थ्यो । अब भने समयको बचत भएको छ । उहाँका अनुसार अब खहरे खोलामा कभर क्यान गरिएको छ र बाँधमा क्रस डेन निर्माण, पक्की कुलो निर्माण गरिएकाले सदैव खेतमा लगाएको बालीनालीमा सिँचाइ गर्न सहज भएको छ ।

यस्तै सिँचाइ गर्न नसक्दा त्यस क्षेत्रका किसानले हिउँदे बाली तथा मकैसमेत लगाउन पाएका थिएनन् । कुलोबाट पानी चुहावट हुँदा खेतमा पानी पुग्न बिहानभर लाग्ने गरेकामा अहिले कुलो निर्माण गरेपछि बाँधबाट खेतमा पानी १० मिनेटमै पुगेको कृषक बताउँछन् । सिँचाइ कुलो निर्माण भएपछि सबैभन्दा बढी महिलालाई सजिलो भएको छ ।

जिविसको कार्यालयअन्तर्गत साना सिँचाइ कार्यक्रमबाट कुलो निर्माण सम्पन्न भएपछि खुसी हुँदै स्थानीयवासी इन्दिरा फुयाँलले भने, “पुरुषहरु विदेश जाने र हामी महिलाले घरको काम गर्नुपर्ने भएकाले पहिले बलियो सिँचाइ कुलो नहुँदा मुहानमा पानी भए पनि सिँचाइ गर्न सकिएको थिएन । सिँचाइ गर्न नसक्दा तरकारी, अन्नबाली तथा नगदेबाली उत्पादनमा कमी हुने गरेको थियो ।” सिँचाइ कुलो निर्माणले अब अन्नबाली र तरकारी उत्पादनम अवश्य वृद्धि हुने उनको भनाइ छ ।

महिलाले घरायसी काम गर्नुपर्ने, वर्षायाममा खोलामा बाँध र कुलो बनाउन अनिवार्य जानुपर्ने बाध्यता हटेपछि महिला बढी हर्षित भएको स्थानीयवासी मनमाया थापाले बताए ।

सिँचाइ गर्न पाउने भएपछि किसानले तरकारी, फलफूल जस्ता बाली लगाउने योजनासमेत बनाइसकेको अर्का कृषक केशव दाहालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्